सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेस सुदूरपश्चिमकाे सभापतिमा पूर्वमन्त्री बलायरको चर्चा

२०७८ मंसिर १६, ०१:१७ कमल सावद

धनगढीः नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशको पहिलो अधिवेशन बिहीबारबाट धनगढीमा सुरु भइरहेको छ। काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश अधिवेशन दिउँसो २ बजे पार्टीका केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भच्र्युअल माध्यमबाट उद्घाटन गर्ने तयारी छ। पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा।सशांक कोइराला लगायतका शिर्ष नेताहरूले उद्घाटन कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ।

प्रदेश अधिवेशन सुरु हुनुअघि नेताहरु प्रदेश सभापति सहमतिमा चयनका लागि छलफलमा जुटेका छन्। पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहेका बीरबहादुर बलायरलाई प्रदेश सभापतिमा चयन गर्ने गृहकार्यमा नेताहरु लागेका हुन्। छलफलमा सहभागी एक नेताले दिनेशखबरसँग भने, ‘प्रदेश सभापतिमा पूर्वमन्त्री बीरबहादुर बलायरलाई सर्वसम्मत प्रयास हुँदैछ। कैलाली जिल्ला सभापति नरनारायण शाहलाई महामन्त्री दिने कुरा हुँदैछ। तर, अझै सहमति भने भएको छैन। कैलालीका सभापतिले मानिरहनु भएको छैन।’ 

सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि काँग्रेसले कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूलाई संयोजक तोकेर खटाएको छ। उनले सुदूरपश्चिम प्रदेश सभापतिमा बलायरलाई चयन गर्न छलफल थालेका हुन्। काँग्रेस नेता एनपी साउँद, रमेश लेखक, बीरबहादुर बलायर र बद्री पाण्डे पनि धनगढीमा छन्। उनीहरुबीच प्रदेशको नेतृत्व चयनका लागि छलफल भइरहेको छ। 

कैलाली जिल्ला सभापति शाह, नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्ष तथा डोटीबाट विजयी महाधिवेशन प्रतिनिधि पुष्प शाही, पूर्व परराष्ट्र राज्यमन्त्री तथा बझाङका काँग्रेस नेता अर्जुनजंगबहादुर सिँह, पूर्व सञ्चार राज्यमन्त्री तथा अछामका काँग्रेस नेता गोविन्दबहादुर शाह, सुदूरपश्चिम प्रदेशसभा सदस्य गोविन्द बोहरा र कैलालीका हिमबहादुर रावलले पनि प्रदेश सभापतिमा दाबेदारी पेश गरेका छन्। उनीहरुलाई पनि अन्य पदमा व्यवस्थापनका लागि काँग्रेसमा छलफल सुरु भएको बताइएको छ। 

सुदूरपश्चिमका ७ जिल्लामा नेतृत्व चयन भएसकेको छ भने कैलाली र अछाममा जिल्ला अधिवेशन हुन सकेको छैन। प्रदेश सभापतिका दाबेदार सबै केन्द्रीय सभापति तथा प्रधानमन्त्री देउवा पक्षका हुन्। सुदूरपश्चिममा प्रदेश र महाधिवेशन प्रतिनिधि ७० प्रतिशत देउवा पक्षका विजयी भएका छन्। यस्तै अछामका बलबहादुर कुँवर, अम्बिका चलाउने र कैलालीका उत्तम कठायतले प्रदेश महामन्त्रीमा दाबी गरेका छन्। प्रथम प्रदेश अधिवेशनमा प्रदेशका नौ जिल्ला र ३२ प्रदेश सभा निर्वाचन क्षेत्रबाट गरी नौ सय ७२ जना प्रतिनिधिले भाग लिने छन। शुक्रबार मनोनयनपत्र दर्ताको प्रक्रिया सुरु हुने छ। काँग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमिति पदाधिकारीसहित ५१ सदस्यीय हुने व्यवस्था गरिएको छ।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस