सुदूर नेपाललाई विश्वसँग जोड्दै

व्यवसायिक तरकारी खेतीमा पाटनका दाजुभाई राम र रिउल्या

२०७५ पुष १५, १०:५७ जनक विष्ट

बैतडीको पाटन नगरपालिका वडा नम्बर ३ स्थित बोहोरीगाउँ (डोव) टोल पुग्दा वारीमा व्यस्त थिए, राम प्रसाद भट्ट र उनका सहोदर भाई वलदेव (रिउल्या)। गत कार्तिकको कुरा हो, अली अली चिसो लागिसकेको थियो तर रामप्रसाद र वलदेवलाई भने त्यो चिसो छोएको थिएन। बिहान ७ बजे नै उनीहरु दुवै दाजुभाई तरकारीको स्याहार गर्न वारीमा पुगिसकेका थिए।

निकै मेहनत लगाएर तरकारी वालीको गोडमेलमा व्यस्त थिए वलदेव भने उनका दाजु राम प्रसादले पनि सघाइरहेका थिए। वारीमा लटरम्म फलेका थिए टमाटर अनि त्यतिकै मात्रामा बन्दागोवी पनि। बर्खाको सिजन सकिएर हिउँद लाग्ने बेला भएकाले पनि केही तरकारी उम्रिने क्रममा थियो भने वेमौसमी तरकारी खेतीका लागि उनीहरुले गराहरु खनजोत गरेर ठिक्क बनाएका थिए। पाटन नगरपालिका– ३ मै पहिलो पटक व्यवसायिक तरकारी खेती थालेका सहोदर दाजुभाई राम र वलदेव (रिउल्या) को यो यात्राले १३ वर्ष पूरा गरेको छ। सडक सञ्जालबाट समेत करिब ८/९ किलोमिटर टाढा रहेको बोहोरिगाउँमा तरकारी खेती गर्दा सुरुका दिनमा निकै संघर्ष गर्नुप¥यो।

एकातिर सिचाई सुविधाको अभाव त अर्कोतिर उत्पादित तरकारी बोकोमा बोकेर पाटन र खोडपे बजारसम्म बिक्रीका लागि लैजाने दाजुभाईको दिनचर्या थियो। हिजोआज त गाउँसम्मै सडक पुगेकाले विगतको भन्दा केही सहज भएको राम प्रसादले सुनाए। विगतका चुनौतीलाई सम्झिदै राम प्रसादले दिनेश खबरसँग भने, ‘विगतमा बजार व्यवस्थापन पनि भएन, सडक सुविधा पनि थिएन अनी बिउविजन र मलका लागि डडेल्धुरा धाउनुपर्दथ्यो, तर अहिले सडक सुविधा भएकाले केही सहज भएको छ।’

तरकारी व्यवसायबाट वार्षिक यति नै आम्दानी हुन्छ भन्ने हिसाब नराखेपनि घर परिवारको सानो तिनो खर्च चलिरहेकै बताउछन् दाजुभाई। लामो सयमदेखि व्यवसायीक तरकारी खेतीमा सक्रिय भएका उनीहरुले हाल सम्म सरकारी अनुदान भने प्राप्त गरेका छैनन्। सरकारी अनुदानमा पहुँच भएका तर व्यवसाय नगरिरहेकाहरुको हालीमुहाली हुने गरेका कारण उनीहरुले अनुदान नपाएका हुन्।

रामप्रसाद भट्टले आफूले युवा स्वरोजगार कोषबाट कृषिमा अनुदान पाउँछ भन्छन् तर कहाँ मिल्छ र कहिले खुल्छ भन्ने बारेमा जानकारी नभएको बताए। तर कृषि व्यवसाय नगरेकाहरुले अनुदान पाउदै आएको भन्दै दुःख व्यक्त गरे। स्थानीय सरकार, पाटन नगरपालिकाले समेत हाल सम्म कुनै किसिमको अनुदान नदिएको गुनासो भट्टको छ। तर उनीहरुको वारीमा उत्पादन भएको तरकारी अर्गानिक हुने भएकाले सबैले मन पराउने गरेका छन्।

‘तरकारीमा बढिजसो गोठे मलको प्रयोग गर्ने गरेको छौँ, गाउँघरमा सबैले मन पराउछन्,’रामले भने। उनले १३ वर्षदेखि संघर्ष गरेर निरन्तरता दिएको तरकारी खेतीमा स्थानीय सरकारबाट समेत सहयोग प्राप्त भए सहजता हुने विश्वास दाजुभाईको छ।   
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस