धनगढीमा टाउको दुखाई बनेको ट्याङ्कर पार्किङस्थलको काम अलपत्र
धनगढी: कैलालीको मोहनापुल–अत्तरिया ६ लेन सडकमा पार्किङ गरि राखिएका ट्याङकर हटाउने नेपाल आयाल निगमको प्रयास अझै सफल भएको छैन। व्यवसायी, ट्राफिक प्रहरी र उपमहानगरपालिकाले सडकमै हुने ट्याङकर पार्किङ नदेखे जस्तै गरेपछि निगमले पार्किङ व्यवस्थापनका लागि चासो दिएको थियो।
तर अहिलेसम्म पार्किङ व्यवस्थापनको काम पूरा भएको छैन। धनगढी उपमहानगरपालिका–३ स्थित नेश्नल ट्रेडिङ रहेको खाद्य कम्पनीको जग्गामा पार्किङ स्थल निर्माणको काम सुरु गरिएकोमा उक्त कार्य ३ दिनदेखि ठप्प छ। ‘३ दिन भयो काम भएको छैन। रोलर लगाउन बाँकी छ भन्दै थिए। रोलर नपाएर समस्या भयो रे। अझ ग्रावेल पनि हाल्नुपर्ने छ,’ स्थानीय रिता गुरुङले भनिन्।
पार्किङस्थलमा ग्राभेल मिलाउन रोलर नपाएको बहाना आयल निगमको छ। नेपाल आयाल निगम, प्रादेशिक कार्यालय धनगढीका प्रमुख रामकुमार न्यौपानेले भने एक हप्ता भित्र सबै काम सकिने दाबी गरेका छन्। ‘पानी भरिने भएकाले ग्रावेल भरान गरेका छांै। रोलर लगाउनुपर्ने छ तर पाएका छैनौ। त्यसका लागि सडक डिभिजनसँग मागेका थियौै,’ उनले भने।
नेपाल आयल निगम धनगढीले ट्याङकर पार्किङका लागि भन्दै चटकपुरमा २० हजार प्रति महिना भाडा तिर्ने गरि जग्गा भाडामा लिएको थियो। तर स्थानीयको बिरोधपछि उक्त क्षेत्रमा ट्याङ्कर पार्किङ गरिएन।
ट्याङकर पार्किङमा चासो देखाएको प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय पनि अहिले चुपचाप छ। तर सुदूरपश्चिमकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्ण जोशीले बुधवार काम पूरा हुने दाबी गरेकी छिन्। ‘मैले कुरा गरेको छु। बुधवार रोलर ल्याउने भनेका छन्। रोलर लगाएपछि पार्किङ गर्न मिलीहाल्छ,’ उनले भनिन्।
नेपाल आयल निगम, प्रादेशिक कार्यालय धनगढीका लागि ८० ट्याङकरले पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका छन्। ती ट्याङकर धनगढीका सडकमा पार्किङ हुँदै आएका छन्।
६ लेन सडक क्षेत्रमा गरिने ट्याङकर पार्किङले दुर्घटनाको बढाएको छ। दुर्घटना बढाएको मात्रै छैन ती अव्यवस्थित गरि राखिने गरिएका ट्याङकरले आसपासका व्यवसायीलाई समेत नोक्सानी गरेको छ।