सुदूर नेपाललाई विश्वसँग जोड्दै

आलितालको उणिकोटलाई उच्च मावि बनाउने अभियान सुरु

२०७८ मंसिर १४, ११:२० खबर संवाददाता

मनोज रावत, डडेल्धुराः डडेल्धुराको आलिताल गाउँपालिका–२ मा रहेको उणिकोट माध्यमिक विद्यालयमा कक्षा १२ सम्म अध्यापन गर्न संघर्षसहितको अभियान सुरु गरिएको छ। जिल्लाको भित्री मधेसको पनि अत्यन्त विकट मानिने उक्त क्षेत्रका युवाहरुले  सोमबारदेखि उक्त अभियान थालेका हुन्। 

स्थानीय युवा तथा नेपाली काँग्रेसका नेता प्रमोद मल्लको संयोजकत्वमा २१ सदस्यीय उणिकोट कक्षा १२ कार्यन्वयन समिति गठन गरिएको हो। समितिले उच्च मावि सञ्चालनका लागि विभिन्न ठाउँमा समन्वय गर्ने, आर्थिक रकम संकलन र उच्च मावि निर्माणका लागि संघर्ष समेत गर्ने बताइएको छ। उक्त अभियानमा सबैले हातेमालो गर्न समेत समितिका संयोजक प्रमोद मल्लले आग्रह गरेका छन्।

हाल उक्त विद्यालयमा कक्षा १ देखि १० सम्म २६० जना विद्यार्थीहरु अध्ययन गर्दै आएका छन्। तर २०१६ सालमा स्थापना भएको उणिकोट माविले हालसम्म पनि उच्च माविको अध्यापन सञ्चालन गर्न सकेको छैन। उच्च माध्यमिक विद्यालय सञ्चालनका लागि विभिन्न राजनीतिक दलहरुले निर्वाचनका समयमा चुनावी नारा समेत बनाए।  २०७४ सालको चुनावमा डडेल्धुरा नै गृह जिल्ला भएका वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा समेत आएर मावि सञ्चालन गर्नेमा आश्वासन दिएको स्थानीय बताउँछन्।

स्थानीय अगुवा महिला सारदा नेपाली भन्छिन् ‘पाचौं पटकसम्म प्रधानमन्त्री भएका देउवाले आफ्नो यस क्षेत्रका नागरिकलाई आश्वासन बाहेक केही दिएनन।् यहाँ उच्च शिक्षा नभए कै कारण एसएलसी सम्मको पढाइ मात्र गरेकी हुँ।’ कक्षा १० पास गरेर पनि आफ्नो पढ्ने धोको पूरा नभएको उनले बताइन्। 

सोमबार सोही ठाउँमा भएका एक भेलामा गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङले आफूले सक्दो छिटो उक्त विद्यालयमा उच्च शिक्षा अध्यापनका लागि पहल गर्ने प्रतिवद्धता गरेका छन्।  सोही कार्यक्रमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तुलाराम बोहराले पनि उणिकोट माविमा अध्ययनरत छात्रछात्राले उच्च शिक्षा हासिलका बाहिर जानुपर्ने बाध्यताको अन्त्य गराउने बताएका छन्। 

कमेन्ट लोड गर्नुस