सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुख्यमन्त्री त्रिलोचन भट्टको निर्देशनमा सूचना लुकाइयो

२०७५ पुष १४, १०:२३ जनक विष्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको निर्देशनमा प्रदेश सरकारले सुचना लुकाएको छ। दिनेश एफएमले सूचनाको हक सम्बन्धी ऐन २०६४ बमोजिम माग गरेको सूचना मुख्यमन्त्री त्रिलोचन भट्टको निर्देशनमा लुकाइएको हो। दिनेश एफएमले मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयमा निवेदन दर्ता गर्दै मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीको सेवासुविधामा हाल सम्म भएको कुल खर्चको छुट्टाछुट्टै विवरण र उनीहरुले अनुगमन, भ्रमण र इन्धन खर्च वाफत हाल सम्म भएको खर्च विवरण माग गरेको थियो।

भोली आउनु पर्सी आउनु भन्दै टारिरहेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले अन्ततः मुख्यमन्त्रीको निर्देशनमा तयार पारिसकेको विवरण पनि लुकाएको हो। मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका लेखा अधिकृत बलदेव कपाडीले दिनेश एफएमले माग गरे बमोजिमको सूचनाको विवरण तयार भइसकेकाले शुक्रबार लैजान भनेका थिए। शुक्रबार सूचना माग्नका लागि मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय पुग्दा पनि विवरण तयार भइसकेको तर एकपटक मुख्यमन्त्रीलाई सोध्ने भन्दै मुख्यमन्त्री त्रिलोचन भट्टको कार्यकक्षमा गएका लेखा अधिकृत कपाडीले पछि सूचना दिन मानेनन्।

कपाडीले १५ दिन सम्म सूचना उपलब्ध गराउने समय कार्यालयलाई भएकाले दोस्रो दिन आउनु भन्दै तयार भइसकेको विवरण लुकाएका हुन्। सुरुमा सूचना दिन तयार देखिएका लेखा अधिकृत कपाडीले मुख्यमन्त्रीले तत्काल उपलब्ध नगराउन भनेपछि सूचना लुकाएका हुन्। दिनेश एफएमले पुष ६ गते प्रदेशका मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीको सेवासुविधा, मुख्यमन्त्रीको स्वकीय सचिवालयका कर्मचारीको सेवासुविधामा हाल सम्म भएको खर्चको छुट्टाछुट्टै विवरण तथा पुष ८ गते अर्को निवेदन दर्ता गर्दै मन्त्रीहरुले अनुगमन र भ्रमण खर्चका नाममा गरेको खर्चको अलग अलग विवरण माग गरेको थियो।

सुरुमा सूचना दर्ता नगर्दा पनि माग गरेको सूचना उपलब्ध गराउने दावी गरेका प्रमुख सचिव नारायण प्रसाद विडारीले आफैले तोक लगाएको निवेदन समेत ६ दिन सम्म लेखा शाखालाई पठाउन आनाकानी गरेका थिए। त्यसपछि पनि पटक पटक फोन गर्दा लेखा शाखाले सूचना दिईहाल्छ नि भन्दै आएका  प्रमुख सचिव विडारीले शुक्रबार भने भेट्न समेत मानेन्। एक घण्टा सम्म पालो कुर्दा पनि प्रमुख सचिव विडारीले भेट्न इन्कार गरे भने उनकै कार्यकक्ष बाहिरबाट पटक पटक गरिएका फोन प्रमख सचिव विडारीले उठाउनुको सट्टा काटिदिए।सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ७ मा कुनै पनि सूचना माग गरेर निवेदन प्राप्त भए, तत्काल सूचना उपलब्ध गराउन सक्ने भए तत्कालै र नभए निवेदन प्राप्त भएको मितिले १५ दिन भित्र उपलब्ध गराउनुपर्ने उल्लेख छ। तर मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका कर्मचारीले भने मुख्यमन्त्री त्रिलोचन भट्टको निर्देशनमा दिनेश एफएमले माग गरेको सूचनाको विवरण तयार गरेर पनि लुकाएको हो। भोली आउनु, पर्सी आउनु भन्दै कार्यालयका कर्मचारीले ठगेका पनि छन्।    

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस