’ए’ डिभिजन लिगमा सङ्कटाको पहिलो जित
काठमाण्डौ– शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा सङ्कटा क्लबले पहिलो जित निकालेको छ।
आज शुक्रवार दशरथ रङ्गशालामा भएको खेलमा सङ्कटाले फ्रेन्ड्स क्लबलाई दुई–एक गोल अन्तरले हराएको हो। खेलको ४२ औँ मिनेटमा कप्तान प्रकाश बुढाथोकीले गोल गरी फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए तर अग्रता जोगाउन नसक्दा फ्रेन्ड्स क्लब पराजित हुनु पुग्यो।
सङ्कटाका निरज बस्नेतले खेलको ५७ औँ मिनेटमा र फोडे फोफानाले ८६ औँ मिनेटमा एक÷एक गोल गरेपछि पुनरागमन जित निकालेको हो।
जितसँगै सङ्कटाले दुई खेलमा चार अङ्क जोडेको छ। सङ्कटा दोस्रो स्थानमा रहेको छ, सङ्कटाले पहिलो खेलमा हिमालयन शेर्पासँग एक–एक गोलको बराबरी खेलेको थियो।