सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको परासन स्वास्थ्यचौकीमा एउटै दरवन्दीमा दुई जना स्वास्थ्यकर्मी कार्यरत

संघीय र प्रदेश सरकार बिच समन्वयको अभाव

२०७५ पुष १३, ११:३९ जनक विष्ट

कञ्चनपुरको परासन स्वास्थ्यचौकीमा एउटै दरवन्दीमा दुईजना स्वास्थ्यकर्मीको काज सरुवा गरिएको पाईएको छ। संघ र प्रदेश सरकारबिच समन्वयको अभाव भएपछि परासन स्वास्थ्य चौकीको अहेवको दरबन्दीमा दुई जनाको सरुवा गरिएको हो। एक जनालाई प्रदेश र अर्कोलाई संघीय सरकारले काज सरुवा गरेर पठाएपछि अहिले एउटै दरबन्दीमा दुईजना अहेव कार्यरत रहेका छन्। दुवै जनाको काज सरुवा भएर परासन स्वास्थ्यचौकीमा आएपछि यसअघि उनीहरु कार्यरत डडेल्धुराका स्वास्थ्य चौकीका दरबन्दी रित्त भएका छन्। स्वास्थ्यकर्मीको सरुवामा संघीय सरकार र प्रदेश सरकारबिच समन्वयको अभाव भएपछि पहाडी जिल्लाका स्वास्थ्य संस्था स्वास्थ्यकर्मी विहिन हुन थालेका छन्। 

संघीय सरकार अन्तरगतको स्वास्थ्य विभाग र प्रदेश सरकार अन्तरगतको स्वास्थ्य निर्देशनालयले छुट्टा छुट्टै मितिमा कञ्चनपुरको परासन स्वास्थ्य चौकीमा दुई जना अहेवको काज सरुवा गरेको हो। प्रदेश स्वास्थ्य निर्देशनालयले मंसीर ३ गते काज सरुवा गरेर यसअघि डडेल्धुराको आलिताल गाँउपालिकाको गांङखेत स्वास्थ्य चौकीमा कार्यरत अहेव चन्द्रलाल चौधरीलाई परासन स्वास्थ्य चौकी पठाएको छ भने स्वास्थ्य सेवा विभागले मंसीर २७ गते डडेल्धुराको अजयमेरु गाँउपालिकाको चमडा स्वास्थ्यचौकीमा कार्यरत अहेव चित्राकुमारी कठायतको काज सरुवा गरेर पठाएको हो। एउटै दरबन्दीमा काज सरुवा भएर आएका अहेव चौधरी र कठायतलाई पुर्नवास नगरपालिकाले कामकाज गर्न दिन भनेपछि दुवै जनाले काम गरिरहेको परासन स्वास्थ्य चौकीका इन्चार्ज ओम प्रकाश पटेलले बताए । 

परासन स्वास्थ्यचौकीमा एउटै दरबन्दीमा दुई जना अहेवको सरुवा भएपछि यसअघि उनीहरु कार्यरत स्वास्थ्य चौकीमा भने दरबन्दी रिक्त रहेको छ। स्वास्थ्यकर्मीले पहाडी जिल्ला छोडेर तराईका जिल्ला रोज्न थालेपछि पहाडी जिल्लाका स्वास्थ्य संस्थाहरु स्वास्थ्यकर्मी विहिन हुदै गएका छन्। अजयमेरु गाँउपालिकाको चमडा स्वास्थ्यचौकीमा भद्रपुर स्वास्थ्यचौकीमा कार्यरत अहेवको काज सरुवा गरेपनि सो स्वास्थ्यचौकीमा अहेव पद रिक्त छ । जसका कारण स्वास्थ्य सेवा प्रवाहमा समस्या भएकोे छ। अजयमेरु गाँउपालिकाका स्वास्थ्य संयोजक गणेश पालले वैकल्पिक व्यवस्था गरेर त्यसको लागि लागिरहेको बताए । 

प्रदेश सरकार र संघीय सरकारले आपसी समन्वय नगरी स्वास्थ्यकर्मीको सरुवा गर्न थालेपछि तराईमा एउटा दरबन्दीमा एउटै स्वास्थ्य चौकीमा दुई जनाको सरुवा हुँदा पहाडका स्वास्थ्य चौकीका दरबन्दी रिक्त हुन थालेका हुन्। तर सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले भने विगतमा समन्वय नहँुदा काज सरुवामा क्रुटी भएपनि अब भने कर्मचारी समायोजन अध्यायदेश आइसकेकाले त्यसो नहुने दावी गरेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले विगतमा देखिएको समस्या अव नदेखिने बताए ।

  
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस