जनयुद्धका बेला गोलीको छर्रा खाएका बैतडीका चन्दको उपचारमा समस्या
धनगढीः बैतडीका दिपकबहादुर चन्दलाई जनयुद्धका बेला गोलीको छर्रा लागेको थियो। त्यसपछि माओवादी केन्द्रका पूर्वलडाकु रहेका उनको स्वास्थ्यमा विभिन्न समस्या आइरहेको छ। पञ्चेश्वर गाउँपालिका वडा नम्बर १ सन्तोलाका चन्दको विगत ३ वर्षदेखि स्वास्थ्यमा समस्या देखिएको छ। उनको पेटमा भएको ट्युमर र क्यान्सर जस्तो प्राणघातक रोगले ग्रस्त बनाएको चिकित्सकहरुले बताएका छन्।
उनी विगत एक वर्षदेखि भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचाररत छन्। तर आर्थिक अभावका कारण उनको उपचारमा समस्या देखिएको छ। जनयुद्धको बेला कालीकोटको पीली मोर्चामा तत्कालीन शाही सेनाले चलाएको गोलीको छर्रा उनको हातमा लागेको थियो। उक्त छर्रा नै आफ्नो उपचारमा बाधक बनेको उनले बताए।
पारिवारिक स्रोतका अनुसार छर्राकै कारण चन्दको एमआरआई गर्न कठिन भइरहेको छ। उनको शल्यक्रिया गर्नुपर्ने भएकाले चिकित्सकले छर्रा निकाल्ने बताएको परिवारले बताएको छ। उपचारमा पनि ठूलो खर्च लाग्ने भएकाले पार्टी र आम नागरिकसँग सहयोगका लागि दिपक चन्दले अपिल गरेका छन्।
सहयोगका लागि भारतमा हुनेहरुले ८४७०९०४२४५, ८४१९९९२९८९ र नेपालका लागि ९८६५९६००३१ मा सम्पर्क गरिदिन आग्रह गरिएको छ।