सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका किसानलाई बीउ वितरण

फाइल फोटो
फाइल फोटो
२०७८ मंसिर ६, ०७:३८ रासस

कञ्चनपुरः कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गरिएको छ। 

गहुँ प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषि समूह, कृषि सहकारी, कृषि फार्ममार्फत नगरपालिकाको कृषि शाखाले किसानलाई अनुदानमा १८ हजार ६६० किलोग्राम गहुँको बीउ वितरण गरेको हो।     

कृषि शाखाका प्राविधिक सहायक करनसिंह बुढाऐरका अनुसार नगरपालिकामा क्रियाशील कृषि सहकारी १८, कृषि समूह २२ र कृषि फार्म ४५ वटामार्फत ३२५ जना किसानलाई उन्नत जातको बीउ वितरण गरिएको छ। गहुँ प्रवद्र्धन कार्यक्रमअन्तर्गत सङ्घीय सरकारबाट प्राप्त २० लाख रकममध्ये रु सात लाख र किसानले बेहोरेको रु सात लाख गरी रु १४ लाखमा गहुँको बीउ खरिद गरी वितरण गरिएको उनले बताए। 

“किसानलाई उन्नत जातका विजय, आदित्य, एनएल ९७१ र वाणगङ्गा जातको गहुँको बीउ मागका आधारमा उपलब्ध गराएका छौँ”, उनले बताए। “उन्नत जातको बीउको प्रयोगले गहुँको उत्पादनमा वृद्धि हुने अपेक्षा गरेका छौँ।” 

किसानलाई मार्का नपर्ने गरी ढुवानी र लोड अनलोडबापतको खर्च शाखबाटै बेहोरिएको छ। शाखाबाट वितरण गरिएको बीउ १८८ बिघा जग्गामा किसानले छरेका छन्। नगरपालिका क्षेत्रका गहुँ खेतीमा संलग्न किसानमध्ये ७० प्रतिशतले उन्नत जातको गहुँको बीउको प्रयोग गर्ने छन्।

सिँचाइको पहुँच पुग्न थालेपछि गहुँको उत्पादन प्रतिवर्ष बढ्दोरुपमा रहेको छ। किसानलाई आवश्यकताअनुसारको रासायनिक मलको आपूर्तिमा सहज गरिए उत्पादनमा वृद्धि गर्न सकिने कृषि प्राविधिको भनाइ छ। नगरपालिका क्षेत्रमा प्रतिहेक्टर गहुँको उत्पादन दुई मेट्रिक टन छ।। 
 

कमेन्ट लोड गर्नुस