सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल–भारतमैत्री कन्सर्टमा दुवै देशको कला प्रस्तुत

२०७८ मंसिर ६, ०५:४९ खबर संवाददाता

काठमाडौं । काठमाडौंमा आइतबार भारतीय कलाकारहरूले आफ्ना गीतसंगीत तथा नृत्य प्रस्तुत गरेर नेपाली दर्शक श्रोताका मन जितेका छन् । नेपालका लागि भारतीय राजदूतावास, काठमाडौंले आयोजना गरेको ‘नेपाल–भारत अन्तर्राष्ट्रिय मैत्री कन्सर्ट–२०२१’ मा कलाकारहरूले आफ्ना प्रस्तुतिबाट दर्शकको मन जितेका हुन् ।

डीएभी सुशील केडिया विश्व भारती स्कुल, काठमाडौं र सांस्कृति भारतको सहकार्यमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले सो मैत्री कन्सर्टका आयोजना गरेको हो ।

उक्त मैत्री कन्सर्टको उद्घाटन अग्रज राजनीतिज्ञ तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले नेपाल र भारतको सांस्कृतिक सम्बन्ध सदियौंदेखि रहँदै आएको बताए ।

सो क्रममा अध्यक्ष ठाकुरले भारत र नेपालको साझा सांस्कृतिक सम्पदा र दुई मित्रतापूर्ण छिमेकीहरू बीचको सम्बन्धलाई प्रवद्र्धन र संरक्षण गर्न युवा कलाकार र विद्यार्थीहरूको महत्वपूर्ण भूमिका रहने बताए ।

सो अवसरमा बोल्दै प्रथम सचिव (प्रेस, सूचना तथा संस्कृति) नवीन कुमारले भारत र नेपालका कलाकारहरूको रमाइलो प्रस्तुति र आफ्नो कलाको माध्यमबाट दुई देशका जनतालाई एकताबद्ध गराउन योगदान गरेको बताए । भारतको स्वतन्त्रताको ७५ वर्ष मनाउन र स्मरण गर्न भारत सरकारको आयोजनामा आजादीको अमृत महोत्सवअन्तर्गत सो कार्यक्रम गरिएको पनि उनले बताए ।

डीएभी सुशील केडिया विश्व भारती स्कुलका अध्यक्ष अनिल केडियाको आतिथ्यतामा सम्पन्न सो कन्सर्टमा भारतका चर्चित कलाकारहरू गायिका डा. रञ्जना झा, नर्तकहरू यामिनी शर्मा र रिजुला मिश्रले आफ्ना नृत्य एवम् गायन प्रस्तुत गरे । नेपालको तर्फबाट स्वजन रघुवंशी समूहले आफ्नो प्रस्तुतिमार्फत दर्शकहरूलाई मोहित पारे । सो क्रममा भारत र नेपालका सीबीएसई स्कुलका युवा विद्यार्थीहरूले पनि सांस्कृतिक प्रदर्शनी प्रदर्शन गरेका थिए ।

कमेन्ट लोड गर्नुस