वैकल्पिक रुपमा खुलाइयो जयपृथ्वी राजमार्ग
धनगढीः एक महिनापछि बझाङको जयपृथ्वी राजमार्ग सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार पहिरोका कारण अवरुद्ध भएको राजमार्गमा वैकल्पिक सडक निर्माण गरिएको हो।
सेती नदीमा आएको बाढीले नारुगौडा र जाल्या बगरको सडकखण्ड बगाएपछि अवरुद्ध बनेको राजमार्ग शनिबारदेखि वैकल्पिक रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी उपरीक्षक ज्ञानबहादुर विष्टले बताए। नारुगौडामा बम विस्फोट गरेर र जाल्या बगरमा सेती नदीको धार नै परिवर्तन गरेर राजमार्गलाई सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए।
राजमार्ग सञ्चाल भएसँगै शनिबार बिहानदेखि साना तथा ठूला सवारी सञ्चालनमा आएका छन्। राजमार्ग अवरुद्ध बनेपछि सदरमुकाम चैनपुर लगायतका स्थानीय बजारहरुमा महंगी बढेको थियो। असोज ३१ देखि कात्तिक ३ गते सम्म परेको बेमौसमी वर्षाका कारण सेती नदीले राजमार्गमा क्षति पुर्याएपछि सडक अवरुद्ध बनेको थियो ।