सुदूर नेपाललाई विश्वसँग जोड्दै

शहीद स्मारक ए डिभिजन लिग आजदेखि शुरू

२०७८ मंसिर ३, ०६:१६ खबर संवाददाता

काठमाडौंः शहीद स्मारक ए डिभिजन लिग २०७८ शुक्रबारदेखि सुरु भएको छ। काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ४ः ४५ बजेबाट ए डिभिजन लिग सुरु भएको हो। उद्घाटन खेलमा फ्रेण्ड्स क्लब कुपण्डोल र नवप्रवेशी सातदोबाटो युथ क्लबबीचको खेल सुरु भएको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलो पटक ए डिभिजन लिगको खेल फ्लड लाइटमा खेलाएको जनाएको छ। नेपाली फुटबलको शीर्ष श्रेणीको लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्दैछन्। लिगको विजेताले नगद ७५ लाख पाउनेछन् भने उपविजेताले ५० लाख र तेस्रोले २५ लाख प्राप्त गर्नेछ।

लिग सुरु हुनुअघि बिहीबार प्रि–लिग कन्फ्रेन्स आयोजना भएको थियो। जसमा १३ क्लबका प्रशिक्षक र कप्तानले तयारीबारे बोलेका थिए। हिमालयन शेर्पा क्लब भने प्राविधिक कारणले उपस्थित नभएको एन्फाले जनाएको छ।

साविक विजेता मछिन्द्र फुटबल क्लबसँगै साविक उपविजेता त्रिभुवन आर्मी उपाधिको मुख्य दाबेदारको रुपमा देखिएका छन्। मछिन्द्रले उपाधि रक्षा गर्ने टार्गेट राख्दा आर्मीले पहिलो उपाधिकै खोजीमा छ।

यस्तै सर्वाधिक ८ पटकको च्याम्पियन मनाङले पनि अर्को उपाधि जित्ने लक्ष्य राखेको छ। अर्को प्रतिष्ठित क्लब थ्री स्टारले पनि उपाधिकै लागि प्रतिस्पर्धा गर्ने जनाएको छ। नेपाल पुलिस क्लब र संकटा क्लब र एनआरटीले पनि राम्रो स्थानमा लिग सकाउने लक्ष्य राखेको जनाएका छन्।
 

कमेन्ट लोड गर्नुस