बैतडीमा माओवादी केन्द्रले तोकेरै चन्दा उठायो(पत्रसहित)
धनगढी: बैतडीको पुर्चौडी नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले कर्मचारीबाट तोकेरै चन्दा असुली गरेको खुलेको छ। पार्टीले वडा तथा नगर अधिवेशन गर्ने भन्दै तोकेरै चन्दा असुली गर्न पठाएको पत्र दिनेशखबरले प्राप्त गरेको छ। माओवादी केन्द्रका नगर अध्यक्ष आनन्दसिंह धामीले हस्ताक्षर गरेको पत्रमा नगर मावि शिक्षकलाई ३ हजार, निमावि शिक्षकलाई २ हजार ५ सय, प्रावि शिक्षकलाई २ हजार र नगर बालविकास शिक्षकलाई १ हजार ५ सय आर्थिक सहयोग दिन तोकेरै पत्र पठाइएको पाइएको छ।
माओवादी केन्द्रले नगर अनमी, जेटीए, ल्याव टेक्निसियन, अमिन, खरिदार र कार्यालय सहयोगीबाट समेत २ हजारका दरले रकम असुलेको एक कर्मचारीले दिनेशखबरलाई बताए। पुर्चौडी नगरपालिकाले ३ सय बढी कर्मचारी करारमा भर्ना गरेको र ती सबैबाट वडा र नगर अधिवेशन गर्ने भन्दै तोकेरै रकम असुलेको आरोप समेत लगाइएको छ। पुर्चौडी नगरपालिकामा माओवादी केन्द्रकै नगर प्रमुख रहेका छन्। नगरपालिकामा मनलाग्दी करारमा कर्मचारी भर्ना गरेर पार्टीको नाममा हरेक वर्ष चन्दा उठाउने काम गर्ने गरेको पीडित कर्मचारीको दाबी छ।
यस विषयमा प्रतिक्रिया माग्न नेकपा मओवादी केन्द्र पुर्चौडीका अध्यक्ष आनन्दसिंह धामीको मोबाइल नम्बर ९७४८८७४६४६ मा पटक–पटक सम्पर्क गर्न खोज्दा उनको फोन उठेन।