सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटामा ‘मेडिकल विश्वविद्यालय’ बनाउन माग गर्नेहरु सुस्ताए

२०७८ कार्तिक २९, ११:१२ नारायण अवस्थी

धनगढी: कैलालीको गेटामा आवश्यक भौतिक संरचना तयार भए पनि चिकित्सा शिक्षा र अस्पताल सञ्चालनमा ढिलाई हुन थालेको छ। प्रस्तावित गेडा मेडिकल कलेजको नामले भौतिक संरचना निर्माणको काम लगभग सकिए पनि चिकित्सा शिक्षा र अस्पताल सञ्चालनमा भने ढिलासुस्ती भइरहेको छ। संघीय सरकारले सञ्चालनको प्रारुप तयार गर्न बेवास्ता गर्दा प्रदेशमै चिकित्सा शिक्षा अध्ययन गर्ने र स्तरीय स्वास्थ्य सेवा पाउने सपना पूरा हुन अझै समय लाग्ने देखिएको छ। मेडिकल कलेजलाई चिकित्सा विश्वविद्यालयको रुपमा सञ्चालनको मागसहित जनदबाब दिनु आवश्यक देखिएको धेरैको तर्क छ। 

२०६३ सालमा कैलाली उद्योग वाणिज्य संघले थालेको सालिन माला आन्दोलनमार्फत गेटामा मेडिकल कलेज स्थापना गर्नुपर्ने माग सरकार समक्ष राखेको थियो। २१ बुँदे माग अन्तरगत कैलाली उद्योग वाणिज्य संघले अगाडि सारेको त्यो मागमा सम्पूर्ण सुदूरपश्चिमवासी एकमत थिए र छन्। अहिले आएर भौतिक पूर्वाधार निर्माणको कार्यमा निकै प्रगति भए पनि मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान या चिकित्सा विश्वविद्यालय कुन प्रारुपमा सञ्चालन हुने भन्ने विषयमा अहिलेसम्म कुनै निर्णय हुन नसकेको गेटा मेडिकल कलेज पूर्वाधार विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले बताए। ‘आजसम्म मेडिकल कलेज, प्रतिष्ठान या विश्वविद्यालय बन्नेबारे माथिल्लो तहमा कुनै निर्णय भएको छैन’ उनले भने, ‘आज मात्रै मन्त्रालयमा फोन गरेको थिए तर मन्त्रालयले कुनै पनि प्रस्ताव तयार गरेको छैन।’

गेटामा मेडिकल कलेज स्थापना गर्नुपर्ने माग अनुसार अहिले भौतिक निर्माणको काम भइरहेको छ। भौतिक निर्माणको कार्य अन्तिम चरणमा पुगेको भएपनि मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठानभन्दा चिकित्सा विश्वविद्यालय स्थापना गर्नुपर्ने माग उठेको छ। सुदूरपश्चिमको यो माग पूरा गराउन सबैले सामूहिक आवाज उठाउनुपर्ने  कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दिनेशराज भण्डारी बताउँछन्। ‘सुदूरपश्चिममा सस्तो स्वास्थ्य सेवाका लागि गेटामा मेडिकल कलेज, प्रतिष्ठान या विश्वविद्यालयमध्ये कुनै एउटा चाँडै सञ्चालन हुनुपर्छ’ उनले भने, ‘शीघ्र सञ्चालनका लागि सबैले सामूहिक आवाज उठाउनुपर्छ।’  

भदौ २ गते कैलाली उद्योग वाणिज्य संघको पहलमा आयोजित सर्वदलीय, सर्वपक्षीय छलफलमा सहभागीहरुले प्रस्तावित मेडिकल कलेजलाई तत्काल सञ्चालनमा ल्याउन एकजुट भएर केन्द्रलाई दबाब दिने सहमति गरेका थिए। गेटामा मेडिकल विद्यालय सञ्चालनका लागि भौतिक संरचना तयार भएको बेला राजनीतिक दल, भातृ संगठन, नागरिक समाज, स्वास्थ्य क्षेत्रका जानकारहरुले मेडिकल विश्वविद्यालय सञ्चालनका लागि सयुक्त रुपमा दबाब दिने बताएका थिए। 

कैलाली उद्योग वाणिज्य संघको अगुवाइमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने सहमति भएको थियो। तर संघले त्यो पहल गर्न सकेको छैन। कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले भने प्रधानमन्त्रीलाई भेट्ने समय नपाउँदा डेलिगेसन लगेर काठमाडौं जान नसकेको बताए। ‘प्रधानमन्त्रीको समय नमिलेको कारण अहिलेसम्म नगएका हौँ। आउने ५/७ दिनभित्र हामी काठमाडौं गएर प्रधानमन्त्रीलाई भेट्ने छौँ’ उनले भने।

मेडिकल विश्वविद्यालय सञ्चालनमा आए सुदूरपश्चिमको आवश्यकताका आधारमा पाठ्यक्रम निर्माण तथा अध्ययन, अध्यापन, अन्य स्वास्थ्य संस्थाहरुलाई विभाग तथा मातहतको संस्थाका रुपमा विकास गर्दै दक्ष जनशक्ति उत्पादन गर्न सकिने स्वास्थ्य क्षेत्रका जानकारहरुले बताएका छन्। तर त्यसका लागि सुदूरपश्चिमबाट सामूहिक दबाबको आवश्यकता छ। 
  

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस