आज बडाल जाँत
डडेल्धुरा: डडेल्धुरामा आज बडाल जाँत लागेको छ। चौलोले प्रख्यात बडाल जाँतजिल्लाको गन्यापधुरा गाउँपालिका–२ बडालमा लागेको हो। कात्तिक शुक्ल दशमीको दिन राति (रतेडी) र दोस्रो दिन (दिउसेडी) लाग्ने परम्परा रहिआएको छ। लाटा गन्याप देवताको भक्ति स्वरूप बनाइने चौलोले प्रख्यात बडाल जाँतमा स्थानीय बाजागाजा, भोक्कर, देवलहरूका भाला, गुर्जा, खुकुरी र तरबार हातहातमा समातेर खेलिने भएकाले यस मेलाले सुदूरपश्चिममा प्रसिद्धि पाएको छ।
शुक्ल नवमीका राति पूजा गरी, जाग्राम बसेर दोस्रो दिन बिहानदेखि लाटागन्याप देवताको दर्शन गरे मनोकामना पूरा हुने भन्ने जनविश्वास रहेको छ। दाइन, दमाहा, रुइसिंग, भोक्कर बाजागाजाका साथ स्थानीय हातमा ढाल तरबार खेलाई चौलो खेल्दै गाँज नचाई सकेपछि बडाल जाँत सम्पन्न हुने गर्छ।
आइतबार बेलुकीदेखि पूजाआजासँगै धार्मिक विधिवत् रूपमा जात सुरु हुने गन्यापधुरा–२ का अध्यक्ष इन्द्र कार्कीले बताए। सोमबार बिहान भागेश्वर देवतालाई गाँजले ढोग गरेपछि दिउँसो मेला शुभारम्भ हुने उनले बताए।
प्राचीनकालदेखि चलिआएको छलिया जाँत हेरेपछि देवी देवताको दर्शन र आशीर्वाद प्राप्त हुने जनविश्वास रहेको छ। मेलामा स्थानीय अन्य गाउँबाट पनि देवरो ल्याउने चलन रहेको छ। कुजाकोट, रुमायल, बडाल, थप्सालगायतको स्थानबाट देवरो आउने गरेको भए पनि मूल देवरो भने मालीगाँउबाट ल्याउने चलन रहेको छ।
ढाल तरबार खेलाइ नाचिने भएकाले बडालको चौलो सुदूरपश्चिमको एक पहिचान बनेको छ। यस मेलामा स्थानीयको उत्पादन पनि साटासाट हुनेगर्छ। मेलामा स्थानीय स्तरमा उत्पादित हस्तकलाका सामग्रीका साथै कृषि उपजको व्यापारसमेत हुने गरेको छ ।