सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुर र लम्कीमा अपराधिक गिरोह सक्रिय, हदैसम्मको कारबाहीको माग

टीकापुरमा हत्या गरिएका भूपेन्द्र, अनुप र विवेक
टीकापुरमा हत्या गरिएका भूपेन्द्र, अनुप र विवेक
२०७८ कार्तिक २६, ०२:०४ नारायण अवस्थी

धनगढी :
घटना–१ 

कात्तिक १२ गते राति कैलालीको टीकापुर नगरपालीका वडा नम्बर ८ कालीमाटीका १८ वर्षीय अनुप साउँद गाउँमै ‘बर्थ डे’ पार्टीमा रमाइरहेका थिए। कालीमाटीका मात्रै नभई बर्थ डे पार्टीमा छिमेकी गाउँका युवाहरुको पनि सहभागिता थियो।

पार्टीमा सोही ठाउँका हरि साउँदले नाच्दा अनुप लगायतका युवाहरुले हासेर गिज्याएको भन्दै विवाद सुरु भयो। नृत्यमा हासेको भन्दै अनुप र हरिका साला नाता पर्ने भजनी नगरपालीका वडा नम्बर ३ ठेकीपुरका किरण साउँदबीच कुटाकुट भयो। कुटाकुट हुन थालेपछि ठेकीपुरका किरण साउदले अनुपलाई चक्कु प्रहार गरेर हत्या गरे।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका अनुपको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भयो। भजनी नगरपालिका वडा नम्बर ३ का १९ वर्षीय किरणलाई हत्या आरोपमा पक्राउ गरिएको छ। 
घटना–२  
मंगलबार राति ९ बजेतिर कैलालीको टीकापुरमा खुकुरी प्रहार गरि एक जनाको हत्या भएको छ। एक समूहले चक्कु प्रहार गरेर लम्कीचुहा नगरपालिका–१ का १९ वर्षिय भूपेन्द्र बडुवालको हत्या गरेको हो।

टीकापुरस्थित कृषि हाट बजार नजिकै घटेको घटनामा बडुवाललाई सो समूहले लखेट्दै खुकुरी प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्। घटनामा संलग्न भएको आरोपमा प्रहरीले खुकुरी प्रहार गर्ने १८ वर्षिय आर्यन देवकोटासहित ८ जनालाई पक्राउ गरेको छ। मुख्य योजनकार भनिएका युवकसहित ८ जना अझै फरार छन्। 
घटना–३
२१ असारमा कैलालीको टीकापुर–१ स्थित मनुवा रोडका दिलिप विष्टका साढे तीन वर्षका छोरा विवेक दिदी नाता पर्ने १५ वर्षीया किशोरीसंग जामुन खान गए। युवती मात्रै घर फर्किएपछि विवकेका बुवाले खोज तलासका लागि इलाका प्रहरी कार्यालय टीकापुरमा निवेदन दिए। घर फर्केकी किशोरीले रुखमा जामुन नभएको र भाइलाई घरतर्फ पठाएको तर जिद्धी गरेर आफन्तको घरमा जान्छु भनेको परिवारलाई जानकारी गराएकी थिइन्।

ती किशोरीले आफू भने साथीको घरमा गएको बताएकी थिइन्। २३ असार साँझ साढे ५ बजे बालक हराएको ठाउँबाट झण्डै ५ किलोमिटर टाँढा टीकापुर नगरपालिका–४ घोयली वनमा जमरा कुलोको किनारतर्फ विवकेको शव फेला प¥यो। जिल्ला प्रहरी कार्यालय कैलालीकाका अनुसार अनुसन्धानको क्रममा पारिवारिक रिसिबीका कारण ती किशोरीले हत्याको योजना बनाएको खुल्यो र उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अगाडि बढायो। 

पछिल्लो डेढ हप्ताकै अन्तरालमा कैलालीको टीकापुरमा हत्याका एकै प्रकृतिका दुई घटना घटेका छन्। दुबै घटनामा किशोरावस्थाका युवाहरुकै संलग्नता देखिएको प्रहरीको दाबी छ। कैलालीको लम्की, टीकापुर र चिसापानी क्षेत्र असुरक्षित हुन लागेको भन्दै स्थानीय चिन्तित भएका छन्। विगतमा नाम चलेको तथा राजा महेन्द्रले मन पराएको टीकापुर क्षेत्र अहिले अपराधिक गतिविधिको अखडा बन्न थालेपछि स्थानीय चिन्तित भएका हुन्। 

स–सना अपराधमा संरक्षण पाउन थालेपछि युवाहरुका विभिन्न गिरोह अहिले आएर जघन्य अपराधमा सक्रिय भएको देखिएको छ। स्थानीयले अपराधिक गतिविधिमा सक्रिय गिरोहलाई हदैसम्मको कारबाही हुनुपर्ने माग संविधानसभा सदस्य समेत रहेका लम्कीका स्थानीय भगत बडुवालले बताए। ’यो क्षेत्रमा सक्रिय युवाहरुका अपराधिक समूहलाई नियन्त्रणमा ल्याउनु पर्छ,’ उनले भने, ’यदि अहिले अपराधमा सक्रिय भएकाहरुलाई सम्हाल्न सकियन भने भोलिको स्थिति भयावह हुने देखिन्छ।’

१२ दिनको अन्तरालमा दुई वटा हत्याका घटना भएको कुरा सतहमा आएपनि टीकापुरमा युवाहरुबीच दिनहुँ हुने झडपले त्रास बढेको स्थानीय युवा पृथ्वी रावलले बताए। ’युवाहरुको कारण टीकापुर लम्की र चिसापानीमा डराएर बस्नुपर्ने अवस्था आएको छ,’ उनले भने, ’अपराधमा संलग्न भएकाहरुले सजाय नपाउदा अपराधिक घटना बढेको छ। अपराध गर्नेले सजाय त पाउनु पर्यो।’

पछिल्ला दिनहरुमा लागुऔषध दुर्व्यसनको कारण युवाहरुले अपराध कर्म रोजेको बताइएको छ। युवाहरुलाई व्यस्त र सिर्जनात्म हुने वातावरण बनाउन नसक्दा युवाहरुमा सामाजिक विचलन आएको टीकापुरका अर्का स्थानीय जगदिश्वर पण्डितको भनाई छ। ’संगीत, खेलकूद जस्ता सिर्जनशील क्षेत्रमा युवाहरुलाई आकर्षित गर्न सकिए युवा सम्हालिन्थे होला,’ उनले भने, ’हामीले युवाहरुलाई नियन्त्रण गर्न सकिरहेका छैनौँ। समाजका लागि केही गर्नुपर्छ भन्ने मानसिकताको विकास युवाहरुमा गराउन जरुरी छ।’ 

टीकापुर, लम्की र चिसामपानी क्षेत्रमा आउजाउ गर्न अहिले सबैलाई डर लाग्न थालेको छ। तर विगतमा टीकापुर सबैको रोजाइको सहर भएको पूर्व प्रहरी अधिकृतसमेत रहेका भीमबहादुर शाहले बताए। ’पहिले टीकापुर नाम चलेको ठाउँ हो। राजा महेन्द्रले स्वास्थ्य लाभ गरेको ठाउँ हो,’ उनले भने, ‘हाम्रो समयमा टीकापुर सुरक्षित थियो। अहिले आएर लागुऔषध दुर्व्यशनको कारण हत्या, बलात्कार, चोरी लगायत जातीय÷क्षेत्रीय द्वन्द पनि बढ्दो छ।’

अपराधमा युवाको संग्लनता बढ्नुमा राजनीतिक दल नेता तथा प्रहरी प्रशासन सबैभन्दा बढी जिम्मेवार देखिएको सर्वसाधारणको गुनासो छ। आँखा अगाडि नै हुने अपराध हुन नदिन प्रहरीले वेवास्ता गर्दा र जघन्य अपराधमा संलग्नलाई राजनीतिक संरक्षण हुँदा अपराध बढिरहेको कतिपयको आरोप छ। तर टिकापुर बहुमुखी क्याम्पसका प्रमुख केसरबहादुर कुँवरको भने नैतिक शिक्षाको अभाव तथा अभिभावकको वेवास्ताका कारण युवाहरु अपराधमा संलग्न भएको दाबी छ। ’हामीले अहिले सुरक्षाको प्रत्याभुति गर्न सकेका छैनौँ। अहिले यहाँ कोही मान्छे आउन चाहदैन,’ उनले भने, ’टीकापुर आउनेभन्दा पलायन हुने संख्या बढ्ने देखिन्छ।’

पछिल्लो समयमा लम्की, चिसापनी र टीकापुर क्षेत्रमा अपराधिक समूह सक्रिय भएका छन्। पहिलो, दोस्रो पटक अपराधिक गतिविधिमा संलग्न हुँदा कारबाही नभएपछि उनीहरुको मनोवल बढेको छ। जसका कारण अहिले आएर जघन्य अपराध बट्न थालेका छन्। अपराध नियन्त्रणका लागि दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने मंगलबार हत्या गरिएका भूपेन्द्रका बुवा डम्मर बडुवालले बताए। ’टीकापुर र चिसापानीमा छुट्टा छुट्टै अपराधिक समूह छ,’ उनले भने, ’यी समूहलाई नियन्त्रण गर्न नसकिए धेरैको अवस्था मेरो जस्तो हुने देखिन्छ।’ 

समाज अव्यवस्थित हुँदा अपराधिक क्रियाकलापमा युवाहरु संलग्न हुने गरेको बताउँदै कैलाली बहुमुखी क्याम्पसका समाज शास्त्रका उपप्राध्यापक तिलक बमले भने, ‘बच्चैदेखि नैतिक शिक्षा र संस्कारमा घर परिवारले शिक्षा दिन नसक्दा नै किशोर–किशोरी सामाजिक अराजगतातर्फ उन्मुख भइरहेका छन्।’ पछिल्लो समयमा सामाजिक परिवेश नै अव्यवस्थित भएका कारण अपराधिक क्रियाकलापमा वृद्धि भइरहेको उनको विश्लेषण छ। 

प्रहरीको तथ्यांकले कैलाली जिल्लामा प्रदेशमै सबैभन्दा बढी अपराधका घटना हुने देखाएको छ। कैलालीको लम्की र टीकापुर क्षेत्रमा मात्रै गत आर्थिक वर्षमा ४ सय ९५ मुद्दा दर्ता भएका छन् भने यो आर्थिक वर्षको तीन महिनामा एक सय २० घटना प्रहरीमा दर्ता भएको प्रदेश प्रहरी कार्यालले जनाएको छ। 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस