धनगढीमा हुने एलपिएललाई सुमित्रा बस्नेतको साथ
धनगढीः धनगढीमा अगामी माघ दोस्रो साताबाट आयोजना हुने विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग एलपीएललाई समाजसेवी तथा खेलप्रेमी सुमित्रा बस्नेतले ब्राउट टु यु बाई प्रायोजन गरेकी छन्। समाज सेवामा अग्रसर भएर नेसनल क्रेटर्स अवार्ड २०२० (द नेसनल हिरोज) लगायतका सयौँ अवार्ड प्राप्त गर्न सफल बस्नेतले विद्यालय स्तरको खेल क्षेत्र उत्थानका लागि एलपीएललाई प्रायोजन गरेकी हुन्।
प्रतियोगितामा ब्राउट टु यु बाई प्रायोजक रहने गरी आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाही र समाजसेवी बस्नेतबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। प्रतियोगिताको यो संस्करणमा देशभरका १० विद्यालय स्तरीय टिमको सहभागिता रहने शाहीले बताए। जसमा लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी, कैलाली गुरुकुल इङ्लिस मिडियम हाई स्कुल लम्की कैलाली, स्टेपिङ्ग स्टोन इङ्लिस स्कुल धनगढी कैलाली, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली र विद्याभुषण पब्लिक स्कुल मोहनपुर गेटा कैलाली छन्। त्यसै गरी सत्यवती एकेडेमी अत्तरिया कैलाली, होलिल्यान्ड सेकेन्डरी स्कुल अत्तरिया कैलाली, शारदा सरस्वती मावि दोधारा चाँदनी कञ्चनपुर, हिमालयन व्हाईट हाउस वर्ल्ड स्कुल काठमाडौँ र नेक्सस इन्टरनेसनल एकेडेमी काठमाडौँले पनि सहभागिता जनाउने छन्।
लिग कम नक आउट फरम्याटमा खेलाइने प्रतियोगितामा १० टिमलाई २ पोलमा विभाजन गरेर प्रत्येक टिमले लिग चरणका ४ खेल खेल्न पाउने छन्। प्रत्येक टिममा १९ वर्षमुनिका ४ जना खेलाडी राख्न पाइने छ। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट बलरलाई १० हजार, उत्कृष्ट ब्याट्सम्यानलाई १० हजार र उदीयमान खेलाडीलाई १० हजार प्रदान गरिने प्रतियोगिताका प्रवक्ता डिल्लीराज ओझा समर्पणले बताए। त्यस्तै आसन्न संस्करणबाट प्रतियोगितालाई थप रोमाञ्चक बनाउन प्लेयर अफ द म्याच, गेम चेन्जर र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत अवार्ड प्रदान गरिने छ।