सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा खेल मैदान नहुँदा खेलाडीहरु समस्यामा, छनोट प्रक्रिया खोलाको बगरमा

२०७८ कार्तिक २४, १२:३२ खबर संवाददाता

हरिश चन्द, डडेल्धुरा: जिल्ला सदरमुकाम डडेल्धुरामा खेल मैदान नहँुदा खेलाडीहरुलाई समस्या हुने गरेकोे छ। देश र विदेशमा लोकप्रिय बनेको क्रिकेट खेलका लागि उचित खेल मैदान डडेल्धुरामा  छैन। स्थानीय र प्रदेश सरकारले समेत क्रिकेट मैदान निर्माणमा कुनै चासो नदेखाएपछि झनै समस्या भएको छ। खेल मैदानको अभावमा आफूले खोलाको बगरमा १९ वर्ष मुनिको क्षेत्रिय पुरुष छनोट क्रिकेट खेलाइरहेको डडेल्धुरा क्रिकेट संघका सदस्य निरज रावलले बताए।

‘यसै जिल्लाका मान्छे ५ पटक प्रधानमन्त्री हुँदा समेत एउटा पनि खेल मैदान नहुनु दुःखको कुरा हो। उचित खेल मैदान नहुँदा कराँते, भलिबल, रिलेदौड, दौड लगायतका समान्य खेल सिकाउन र सिक्न पनि समस्या भएको छ’ उनले भने। बर्षेनी जिल्लामा खेलकुद विकास गर्न खेलमैदान निर्माणका लागि लिखित र मौखिक रुपमा आग्रह गर्दा पनि सुनुवाई नहुने गरेकोे खेलाडीले गुनासो गरेका छन्। सुदूरपश्चिमका पहाडी जिल्लामा क्रिकेटका लागि उपयुक्त मैदान छैन। मैदान नै नहुँदा खेलकुद प्रतियोगिता पनि हुन नसकेकाले खेलाडीहरु उत्पादन गर्न कठिन भएको छ।  

डडेल्धुराबाट मात्रै अहिलेसम्म ३० जना पुरुष खेलाडीले राष्ट्रिय स्तरका प्रतियोगिता खेलिसकेका छन्। पाँच जना खेलाडीले अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता खेलिसकेका छन्। मैदान भए प्रत्येक वर्ष ४/५ जना खेलाडीले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न पाउने राष्ट्रिय खेलाडी छनोट समितिका सदस्य बासु देव जोशीले बताए।  

डडेल्धुरा जिल्ला सदरमुकाममा खेल मैदान निर्माण गर्न सकिए यस क्षेत्रका खेलाडीलाई निकै ठुलो राहत हुने र विभिन्न समयमा खेलकुदको आयोजना गरी यहाँको व्यापार व्यवसायमा समेत टेवा पुग्ने स्थानीय बताउँछन्।
 

कमेन्ट लोड गर्नुस