सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा सुरक्षाकर्मीले कर्मथलोमै तिहार मनाए

२०७८ कार्तिक २१, १०:३५ नारायण अवस्थी

धनगढी: सुदूरपश्चिममा सुरक्षाकर्मीले कर्मथलोमै तिहार मनाएका छन्। तिहार मनाउन अन्य कर्मचारी र सर्वसाधारण घर फर्किएका बेला नेपाल प्रहरीका सुरक्षाकर्मीले कर्मथलोमै तिहार मनाएका हुन्। 

नजिक घर भएका सुरक्षाकर्मीले केही घण्टाका लागि टीका लगाउन घर जाने समय पाएको भएपनि अरुले भने ब्यारेक र कार्यालयमै तिहार मनाएको बताएका छन्। जिल्ला प्रहरी कार्यलय कञ्चनपुर मातहतका प्रहरी कर्मचारीले एकआपसमा शुभकामना आदानप्रदान गरेर तिहार मनाएका छन्। कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले घर जान नपाएका प्रहरीहरुको मनोरञ्जनका लागि खेलकूद आयोजना गरेर तनाव व्यवस्थापन गर्ने काम गरेको बताए।
‘हामीले ड्युटी गरेरै तिहार मानाएका छौँ। नजिक घर भएका प्रहरीले केही समयका लागि घर गएर टीका लगाए पनि अरुले भने कार्यलय तथा खटाइएको ठाउँमा ड्युटी गर्दै तिहार मनाएका छौं’ उनले भने।

कैलाली प्रहरीले पनि तोकिएको क्षेत्रमा शान्ती सुरक्षाको निगरानी गर्नु प्रहरी कर्मचारीको प्रमुख कर्तव्य भएको जनाएको छ। खटिएकै ठाउँमा तोकिएको काम गरेर तिहारमा शान्ती सुरक्षा कायम गर्नुपर्ने भएकोले दसैँ जस्तै गरी तिहार पनि कार्यस्थलमै मनाएको जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवक्ता प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुले बताए। 

‘चाड पर्वमा विशेष सुरक्षा योजना अनुसार हामीले ड्युटी गर्नुपर्छ’, उनले भने, ‘नजिक घर भएका प्रहरी कर्मचारीलाई भने आलोपालो गरेर तिहारको टीका लगाउन घरमा पठाइएको भएपनि अधिकांश प्रहरीले कर्मथलोमै तिहार मनाएका छन्।’ 

आम नागरिक परिवारका सदस्यसँग रमाइलो गरेर पर्व मनाइ रहेका बेला प्रहरी भने उनीहरुकै सुरक्षार्थ खटिएका हुन्छन्। सामान्य समयको भन्दा चाडपर्वको समयमा सडक दुर्घटना बढी हुने भएकोले ड्युटीमै रहेर तिहार मनाएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले बताए।

 घर जान नपाए पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीले आफ्नो ब्यारेक तथो ड्युटी परेको ठाउँलाई आफ्नै घर सम्झेर तिहार मनाएको बताएका छन्। 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस