टेलिकमको लापरवाहीले ल्याण्ड लाईन सेवा नै हटाउने मनस्थितिमा ग्राहक
धनगढीको बोराडाँडीका कृष्णबहादुर चन्दको टेलिफोन लाईनमा खराबी देखिएको तीन साता पुगेको छ। तीन साताको अवधीमा तीन/चार पटक लाईन मर्मतका लागि नेपाल टेलिकम धाउदा पनि चन्दको समस्या समाधान हुन सकेको छैन्। सुरुमा रकम तिर्नुपर्ने देखिएपछि नौँ सय रुपैया तिरेर थप ११ सय अग्रीम भुक्तानी बुझाउदा पनि टेलिफोन लाईन सुचारु नभएपछि चन्द हैरान भएका छन्। नेपाल टेलिकमले गुनासो लिएर सेवाग्राही कार्यालयमै पुग्दा समेत टेलिफोन लाईन मर्मतमा चासो नदिएको गतिलो उदाहरणका रुपमा बोराडाँडीका कृष्णवहादुर चन्द भएपनि टेलिकमको ल्याण्डलाईन फोन सेवा प्रयोग गर्ने अधिकांश नगरबासीको समस्या उनको जस्तै छ।
पटक पटक गुनासो गर्दा पनि वास्ता नगरेपछि नेपाल टेलिकमको कार्यालयमै पुगेर दुई हप्ता पछि टेलिफोन लाईन मर्मत गरेका धनगढीका मोहन शर्माले पनि टेलिकमको लापरवाही बढेको बताए। उनले नेपाल टेलिकम ग्राहकप्रती उत्तरदायी नभएको आरोप लगाए। पछिल्लो समय नेपाल टेलिकमको लापरवाहीले सबैभन्दा बढि समस्यामा निर्माणाधीन मोहनापुल अत्तरिया ६ लेन सडकखण्डका उपभोक्ता परेका छन्। सडक निर्माण चलिरहेकाले बेला बेला टेलिफोन लाईनका तारहरु भाचिने गरेका छन् तर नेपाल टेलिकमले निर्माणको क्रममा समस्या हुने भन्दै मर्मत सम्भार गरेको देखिन्न। पटक पटक गुनासो गर्दा समेत मर्मतमा चासो नदिएपछि कतिपय स्थानीय त नेपाल टेलिकमको ल्याण्ड लाईन सेवा नै हटाउने मनस्थितीमा पुगिसकेका छन्।
चटकपुरका शिवआर्जय पोखरेलले तीनचार पटक गुनासो गर्दा पनि लाईन मर्मत नभएको बताए। उनले ल्याण्ड लाईनमा नेटवर्क नभएको १५/२० दिन भइसक्दा समेत नेपाल टेलिकमले मर्मतमा चासो नदिएकाले लाईन नै हटाउने मनस्थितीमा आफू रहेको बताए। यता नेपाल टेलिकम धनगढीले भने टेलिफोन लाईन बिग्रिएको गुनासो प्राप्त भए तत्कालै मर्मत सम्भारमा खटिने गरेको दावी गरेको छ। नेपाल टेलिकम धनगढीका प्राविधिक प्रमुख तिलक धामीले ६ लेन सडकमा विद्युतका पोल सार्ने काम चलिरहेका कारण तार भाच्चिदा अवरुद्ध भएको लाईन सुचारु गर्न समय लाग्ने गरेको बताए। तर अन्य क्षेत्रमा भने समस्या नरहेको जिकिर गरे।
नेपाल टेलिकमको धनगढी कार्यालय अन्र्तगत धनगढी उप महानगरपालिका क्षेत्रमा नौ हजार तीन सय ५१ ल्याण्ड लाईन फोन वितरण गरिएका छन्। मर्मतका लागि ११ जना कर्मचारीलाई चार समूहमा विभाजन गरेर जिम्मेवारी दिइएपनि कहिले दैनिक २० देखी २५ लाईन एकै पटक मर्मत गर्नुपर्ने बाध्यता आउदा ढिलो हुने भएपनि प्राय जसो दैनिक ५/६ वटा गुनासा मात्र आउने गरेको बताइएको छ।
जनशक्तिको अभाव नरहेपनि प्राविधिक क्रुटीका आधारमा लाईन मर्मतमा समय लाग्ने गरेको प्राविधिक प्रमुख धामीले उल्लेख गरे। सरकारी स्वामित्वको नेपाल टेलिकमको सेवा प्रभावकारी नहुदा सेवाग्राहीले सास्ती मात्र खेप्नु परेको छैन की लामो समय सम्म लाईन मर्मत नहुदा राजश्व समेत गुमिरहेको छ। यसको फाइदा निजी टेलिफोन कम्पनीले उठाइरहेका छन्।