सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुई पालिकामा कोरोना सङ्क्रमित शुन्य

२०७८ कार्तिक १३, ०७:२० रासस

दमौली: तनहुँका दश स्थानीय तहमध्ये दुई गाउँपालिकामा कोरोना सङ्क्रमित शुन्य भएको छ। देवघाट र आँबुखैरेनी कोरोना सङ्क्रमणमुक्त गाउँपालिका भएको हो। देवघाटका ९० र आँबुखैरेनीका एक सय ११ सङ्क्रमित निको भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ। दोस्रो लहरको कोरोना सङ्क्रमण सुरु भएपछि देवघाटका एक र आँबुखैरेनीका एक सङ्क्रमितको मृत्यु भएको छ। 

हाल जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ४७ रहेको कार्यालयका जनस्वास्थ्य अधिकृत कुसुम श्रेष्ठले जानकारी दिए। भानुमा पाँच, व्यासमा १३, शुक्लागण्डकीमा १६, भिमादमा तीन, म्याग्देमा ६, घिरिङमा एक, ऋषिङमा एक र बन्दिपुरमा एक सक्रिय सङ्क्रमित छन्। सबै सङ्क्रमित होम आइसोलेशनमा छन्। 

जिल्लामा हालसम्म पाँच हजार तीन सय ७५ जनामा सङ्क्रमण पुष्टि भएकामा पाँच हजार दुई सय चार जना निको भएका छन् । यसक्रममा एक सय २४ सङ्क्रमितको मृत्यु भएको कार्यालयले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस