बैतडीका सांसद भण्डारीको टोली ढुंगाडमा, बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण
धनगढीः बैतडीका एमाले सांसद दामोदर भण्डारीसहितको टोली सिगास गाउँपालिकाका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणमा निस्केको छ। बाढीपहिरो प्रभावित क्षेत्रको अवस्था बुझ्न सांसद भण्डारीसहित एमाले बैतडीका नेताहरुको टोली आज ढुंगाडमा पुगेको हो।
टोलीमा सांसद भण्डारीसहित प्रदेश कमिटी सदस्य पुष्करराज जोशी, एमाले बैतडीका नेता रमिल बम र जस्बिर बोहरा रहेका छन्। बाढीले ढुंगाडको ९५ प्रतिशत खेतीयोग्य जमिनमा क्षति पुगाएको बताइएको छ। यस्तै सेती नदीले खेत बगरमा परिणत गरेको स्थानीयले बताएका छन्।
सांसद भण्डारीसहितको टोलीले सिगासको चमडेखर्क, साउनखेत लगायतका ठाउँमा पनि निरीक्षण गरेको छ। त्यस ठाउँका स्थानीयले पक्की तटबन्ध वा सुरक्षित ठाउँमा व्यवस्थापनका लागि पहल गर्न राखेका छन्। एमाले नेताहरु बिहीबार सिगासको बिभिन्न बाढी पहिरो प्रभावित क्षेत्रतर्फ गएका थिए। सिगासका अन्य बाढी प्रभावित ठाउँमा पनि पुग्ने उनीहरुको योजना छ।
यता ढुंगाडका बाढीपीडितहरुले भने प्रधानमन्त्री शेरबहादुर देउवाले हेलिकप्टरमा आएर छिट्टै राहत दिन्छु भनेपनि अहिलेसम्म पनि राहत नपाएको गुनासो गरेका छन्।