सुदूर नेपाललाई विश्वसँग जोड्दै

उप–मेयर कप राष्ट्रिय महिला फुटबल: नीलमको उत्कृष्ट प्रदर्शनसँगै वेदकोटको विजय सुरुवात

२०७८ कार्तिक १२, ०८:०६ खबर संवाददाता

कञ्चनपुर: काठमाडौंमा जारी उप–मेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगिता अन्तर्गत वेदकोट नगरपालिका कञ्चनपुरले पहिलो जित निकालेको छ। 

विहीबार ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको खेलमैदानमा समूह आई अन्तर्गत भएको खेलमा वेदकोट नगरपालिकाले आफ्नो पहिलो खेलमा बराहक्षेत्र नगरपालिकालाई ३–० गोलको अन्तरले पराजित गर्दै रोमाञ्चक पहिलो जित निकालेको हो। जसमा वेदकोट नगरपालिका कञ्चनपुरको महिला टीमको तर्फबाट कप्तान नीलम सिंहले पहिलो हाफको ३ र २८ औं मिनेटमा गोल गर्दै टीमलाई अग्रता दिलाएकी थिइन्। 

त्यस्तै शोभा क्षत्रीले ४३ औं मिनेटमा एक गोल गर्दै टीमको गोल स्कोर ३–० मा कायम राख्न सफल भएकी थिइन्। दोस्रो हाफमा भने वेदकोटले गोल गर्न सकेन। जसमा बराहक्षेत्र नगरपालिकाले गोल गर्ने सुवर्ण अवसर पाएपनि गोलमा भने परिणत गर्न नसक्दा त्यसबाट चुक्न पुग्यो।

प्रतियोगिताको आफ्नो पहिलो खेलमा वेदकोटले कञ्चनपुरको तर्फबाट पहिलो हाफमा फल गर्दै पुष्पा पाण्डेयले पहिलो काड खान पुगिन्। उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्दै प्लेयर अफ द म्याच वेदकोटकी महिला टीमकी कप्तान नीलम सिंहले पाँच हजारसँगै गोल्डेन बुट हात पारिन्। समूह आई अन्तर्गत वेदकोटले आफ्नो दोस्रो खेल कार्तिक १३ गते दिउँसो १२ बजे गौरीगंगा नगरपालिका कैलालीको सामना गर्नेछ।

कार्तिक ४ गतेदेखि राजधानीमा जारी एन्फाले आयोजना गरेको उप–मेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगितामा देशभरका ३१ ओटा स्थानीय तहले सहभागिता जनाएका छन्। सुदूरपश्चिम प्रदेशबाट ५ वटा स्थानीय तहको सहभागिता रहेको छ। जसमा कञ्चनपुर जिल्लाका ९ वटा स्थानीय तहमध्ये वेदकोट नगरपालिकाले मात्रै सहभागिता जनाएको छ।

कमेन्ट लोड गर्नुस