सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको शैल्यशिखरमा व्यक्तिगत जग्गामा सरकारी भवन, प्रदेश सरकारको १५ लाख स्वाहा

२०७८ कार्तिक ११, १०:२३ नारायण अवस्थी

दार्चुला:  दार्चुलाको शैल्यशिखर नगरपालिकामा प्रदेश सरकारले सर्वसाधारणको जग्गामा १५ लाख बजेटमा शहरी स्वास्थ्य केन्द्रको भवन निर्माण गरेर अलपत्र छोडेको छ। नगरपालिकाको वडा नम्बर ८ रिमबाटामा १५ लाखको लागतमा शहरी स्वास्थ्य केन्द्र भवन निर्माण गरिएको थियो। तर त्यो भवनमा नगरपालिकाले स्वास्थ्य केन्द्र सञ्चालन गर्न नचाँहदा भवन जीर्ण र अलपत्र परेको वडाअध्यक्ष अजव विष्टले बताए।

’प्रदेश सरकारको १५ लाख बजेट स्वास्थ्य कार्यालयमार्फत आएको थियो। स्थानीय केशब विष्टसँग उनको छोरालाई कार्यालय सहयोगी राख्ने सहमति गरिएको थियो तर नगरपालिकाले जग्गादातालाई नियुक्ति नदिँदा समस्या भएको हो’ उनले भने।

उता नगरपालिकाले भने वडा नम्बर ८ को रिमबाटामा शहरी स्वास्थ्य केन्द्र निर्माणबारे अनविज्ञ रहेको बताएको छ। वडा कार्यालयले आफूखुशी स्थानीय जग्गाधनीसँग सम्झौता गरेका कारण स्वास्थ्य केन्द्र सञ्चालन गर्न समस्या भएको दाबी नगरपालिकाले गरेको छ।  नगर प्रमुख अमरसिंह धामीले भने, ‘रिमाबाटामा हाम्रो जानकारीबीना भवन निर्माण गरिएको छ। त्यो बजेट कहाँबाट आयो कसरी आयो भन्ने पनि नगरपालिकालाई थाहा छैन। चार जना कर्मचारी नियुक्त गरेर त्यो ठाउँमा सहरी स्वास्थ्य केन्द्र सञ्चालन गर्न खोज्दा जग्गा धनीले अवरोध गर्दा समस्या भएको छ।’

रिमबाटामा रहेको आफ्नो जग्गामा सहरी स्वास्थ्य केन्द्र बनाउन मञ्जुरी दिएको स्थानीय केशब विष्टले बताए। ‘मेरो छोरालाई कार्यालय सहयोगी बनाउने भनेपछि जग्गा दान दिन तयार भएको हुँ’ उनले भने, ‘भवन तयार भयो नगरपालिकाले कर्मचारी राख्यो तर मेरो छोरालाई राखिएन। अनि तालाबन्दी गरेको हुँ।’

आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश सरकारले आधारभूत स्वास्थ्य सेवा सुदृढीकरणको लागि ८८  स्थानीय तहका लागि ४ करोड ४० लाख बजेट बिनियोजन गरेको छ। त्यो बजेटबाट स्थानीय तहमा स्वास्थ्य चौकी र शहरी स्वास्थ्य केन्द्र निर्माण गर्ने कार्यक्रम राखिएकोमा स्वास्थ्य कार्यालय दार्चुलाले कार्यान्यन गरेको त्यो योजनामा व्यक्तिगत जग्गामा शहरी स्वास्थ्य केन्द्र भवन निर्माण गरिँदा सरकारको १५ लाख खेर गएको छ।

वडा अध्यक्ष अजव विष्टले वडा नम्बर ८ को योजनाका लागि वडा नम्बर ७ का बासुदेब जोशीलाई उपभोक्ता समितिको अध्यक्ष बनाएको खुलेको छ। नगरपालिकाले स्वास्थ्य केन्द्र सञ्चालन गर्न नमान्दा निर्माण गरिएको भवन जीर्ण भएको छ। भवनको छाना हावाहुरीले उडाएको स्थानीय खेमानन्द जोशी बताउँछन्। 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस