सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा दोस्रो टेकबहादुर चोखाल स्मृति कप फुटसल प्रतियोगिता हुने

२०७८ कार्तिक १०, ११:५७ खबर संवाददाता

धनगढी: पूर्वमन्त्री स्वर्गीय टेकबहादुर चोखालको सम्झनामा धनगढीमा दोस्रो टेकबहादुर चोखाल स्मृति कप हुने भएको छ। निसर्ग अस्पतालको मुख्य प्रायोजनमा फुटसल प्रतियोगिता हुन लागेको हो। टेकवहादुर चोखाल फाउण्डेसनको आयोजना र अभि मिडिया ईभेन्ट्स एण्ड स्पोर्टसको व्यवस्थापनमा कार्तिक १३ गतेदेखि १५ गतेसम्म धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका वडाका टीमहरु सहभागी हुनेगरी प्रतियोगिता हुने टेकवहादुर चोखाल फाउण्डेसनका अध्यक्ष विनय चोखालले जानकारी दिए। उनले युवाहरुलाई फुटसलतिर आकर्षण बढाउनका लागि टेकबहादुर चोखाल स्मृति कप फुटसल प्रतियोगिता आयोजना गरिएको जानकारी दिए। 

‘पहिलो संस्करणमा धनगढी उपमहानगरपालिकाका वडाका टीमहरु मात्रै सहभागी गराएर प्रतियोगिता गरेका थियौं। दोस्रो संस्करणमा छिमेकी गोदावरी नगरपालिकाका टीमहरु पनि थप गरेका छौं’, फाउण्डेसनका अध्यक्ष चोखालले भने, ‘आगामी दिनमा प्रतियोगितालाई विस्तारै अन्य क्षेत्रहरुमा पनि फैलाउँदै लैजानेछौं।’  प्रतियोगिताको मुख्य प्रायोजक निसर्ग अस्पतालका अध्यक्ष तिर्थ पन्तले फुटसलको माध्यमले स्वास्थ्यमा सुधार हुने बताए। उनले यसक्षेत्रको खेलकुद विकासका लागि अस्पताल सधैं तयार रहेको बताए। पहिलो संस्करणलाई पनि निसर्ग अस्पतालले नै मुख्य प्रायोजनको रुपमा सहयोग गरेको थियो। 

कपको विजेताले नगद ५० हजारसहित ट्रफी मेडल पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले नगद नगद २५ हजारसहित ट्रफी मेडल पुरस्कार प्राप्त गर्नेछ। त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले पनि नगदसहित ट्रफी मेडल पुरस्कार प्राप्त गर्नेछन्। पहिलो संस्करणको विजेताले नगद ३० हजारसहित ट्रफी मेडल तथा उपविजेताले १५ हजार नगदसहित ट्रफी मेडल पुरस्कार प्राप्त गरेका थिए। प्रतियोगिता धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा आयोजना हुने टेकवहादुर चोखाल फाउण्डेसनले जनाएको छ। 

को हुन टेकवहादुर चोखाल ?
टेकवहादुर चोख्याल नेपाली राजनीतिज्ञ र नेपाली कांग्रेसका प्रभावशाली नेताको रुपमा परिचित छन्। चोखाल नेपाली कांग्रेसबाट २०५६ सालमा साविकको कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ बाट विजयी भएका थिए। त्यसको ३ वर्षपछि शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला चोखाल कानुन मन्त्री समेत बनेका थिए।

२०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा साविकको कैलाली निर्वाचन क्षेत्र नम्बर ६ बाट उनी नेपाली कांग्रेसको तर्फबाट संविधान सभा सदस्यको उम्मेदवार पनि रहेका थिए। टेकबहादुर चोखालको २०६६ कार्तिक २७ गते काठमाडौंमा निधन भएको थियो। 
 

कमेन्ट लोड गर्नुस