सुदूर नेपाललाई विश्वसँग जोड्दै

हामी उनलाई नै अवसर दिइरहेका छौँ, जो धोका दिन्छन्ः कमेडियन हिक्मत महरा

२०७८ कार्तिक १०, १०:५३ खबर संवाददाता

धनगढी : कमेडी च्याम्पियन सिजन–२ को उत्कृष्ट ४ सम्म पुग्न सफल कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका हिक्मत महराले कहिले पनि कमेडियन हुने सपना बोकेका थिएनन्। तर च्याम्पियनमा भाग लिएपछि अहिले भने उनको कमेडीसँग कडा प्रेम बसेको छ।  पछिल्लो  समय सुदूरपश्मिमा कमेडी स्थापित गर्ने, यहाँको नागरिकलाई कमेडीप्रति रुचि बढाउने सम्मको सपना उनले देख्न थालेका छन्। 

कमेडी च्याम्पियन सिजन–२ मा भाग लिनुभन्दा पहिले कहिले पनि कमेडीको लागि औपचारिक प्ल्याटफर्म प्रयोग नगरेका उनको च्याम्पियनको यात्रा भने कम रोचक छैन। उनी पहिलोपटक क्यामेराको अगाडी च्याम्पियनमा नै बोले। डिजीटल अडिसनबाट पास भए पछि फिजिकल अडिसनको लागि जाँदा सानोतिनो भएपनि कमेडीमा स्थापित भइसकेकाहरुको व्यवहार बुझ्ने मौका पाए। 

यहि प्रसंगमा उनी भन्छन्, ‘जब मैले आफुलाई धुरन्धर व्यक्तिको रुपमा मान्ने साथीहरुसँग अडिसन दिन जाँदा बोल्न खोजे, उहाँहरुले मन लगाएर बोल्न खोज्नु भएन। मेरो पालो सुरुमा थियो म अडिसन दिन भित्र गए। जब भित्र मनोज गजुरेल सरले करोड करोड भन्न थाल्नुभयो। एक जना भए पनि रिचा शर्मा म्याम्ले स्ट्यान्डअप् अवेसन् दिनुभयो। त्यसपछि बाहिर आउँदा अनि बोल्न सुरु गरे, यसबाट धेरै कुरा बुझे।’

कमेडी च्याम्पियनको सिजन २ मा उनीसँगै कैलालीका दर्पर्ण शर्मा पनि थिए। पहिलो सिजनमा सुदूरपश्चिमबाट एकजना पनि थिएनन्। तर दोस्रो सिजनमा भने दुई जना नै उत्कृष्टताको हिसाबले राम्रै श्रेणीसम्म पुगे। समाजका विभिन्न पक्षहरुलाई कमेडीमार्फत उठाएका हिक्मतले सीमानादेखि किसान सम्मका समस्यालाई कमेडीमार्फत राम्रैसँग बोले। 

उनी आफै पनि यो स्वीकार गर्छन् कि उनले बोलेका किसान, सिमानाका विषय बस्तुलाई थोरै भए पनि न्याय गर्न सके र यी विषय बस्तुले नै आफुलाई पनि स्थापित गर्न सहयोग गरे। उनी सम्झिन्छन् ‘‘च्याम्पियनको यात्राकै दौरान रातिको समयमा समेत विभिन्न ठाउँबाट फोन गरेर धेरैले भने ‘तपाईंले त हाम्रै बोली बोलिदिनु भयो।’’ उनको अर्को विषयबस्तु जो किसानको बारेमा थियो। उनले त्यसलाई भने थोरै चुनौतीपूर्ण मानेछन्। उनी भन्छन् ‘किसानमाथि कमेडी गर्नु भएन। किसानलाई माथि राखेर कमेडी प्रस्तुत गर्नुपर्ने थियो। जसमा म सफल पनि भए र त्यसले मलाई पनि अगाडी बढाउन सहयोग गर्यो।’ 

उनलाई सुदूरपश्चिममा भने कमेडीको वातावरण नरहेको महसुस हुँदो रहेछ। ‘गीत संगीतको जस्तो माहोल कमेडीको यहाँ छैन। मेरो परिवारका सदस्यहरुकै कुरा गरौन, उनीहरुले म च्याम्पियनमा भाग लिएपछि बल्ल टिभीमा कमेडी हेर्न थाल्नुभयो।’ योसँगै उनले सुदूरपश्मिबाट कमेडीकै तयारीमा लागेकाहरुलाई सुझाव दिँदै भने, ‘च्याम्पियन सिजन ३ को लागि सुदूरपश्चिमबाट यदि कोही व्यक्ति जान चाहनुभयो भने मैले आफुले जानेको कुरा शेयर गर्ने र कुनै उपाय छन् भने म बताउन तत्पर रहने छु। आफुले पनि कुनै कमेडीको पृष्ठभूमि नभएर पनि सिजन १ लाइ हेरेर नै सिजन २ मा भाग लिएको थिए र त्यहीँ गए पछि धेरै सिकाई भयो। यसको लागि च्याम्पियनलाई धन्यवाद।’ 

राजनीतिक विषयमा पनि कमेडी गरेका उनलाई अहिलेको राजनीतिक स्थितिलाई गम्भीरतापूर्वक हेर्नुभयो भने के पाउनु हुन्छ ? भन्ने प्रश्नमा उनले भने ‘राजनीतिक बस्तुलाई कमेडीको रुपमा प्रस्तुत गर्दा राजनीतिको अध्ययन जरुरी हुन्छ जो मैले गरे। राजनीतिलाई नजिकबाट नियाले अनि लाग्यो धोका दिने प्रवृत्ति जसको छ। उनले नै दोहोरिएर शासन गरिरहेका छन्।’ 

उनले यसमै फेरि थपे ‘वि.स. २००७ सालपछि कै घटना क्रमलाई पनि पढ्ने हो भने उहीँ केही सिमित व्यक्तिहरुले मौका पाएका छन्। फेरि यसमा जनताहरुको पनि दोष छ। हामी उनलाई नै अवसर दिइरहेका छौँ जो धोका दिन्छन्।’

 

कमेन्ट लोड गर्नुस