सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ट्राफिक, उपमहानगर र निगमको आडमा ट्याङकर व्यवसायीको दादागिरी

२०७८ कार्तिक १०, ०७:३२ रोशन भट्ट

धनगढीः मोहनापुल–अत्तरिया ६ लेन सडकको निर्माण सुरु भएदेखि नै पेट्रोलियम पादर्थ बोक्ने ट्याङकर सडकमै पार्किङ भइरहेका छन्। धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ मा पर्ने नेपाल आयल निगमको प्रादेशिक डिपो अगाडि ६ लेन सडकमा ट्याङकर पार्किङ हुँदै आएका छन्।

आधा सडक नै छोपिने गरि हुने पार्किङका कारण सयौं दुर्घटना मात्रै भएका छैनन् की कयौंले ज्यान पनि गुमाइसकेका छन्। तर पार्किङ व्यवस्थापनको प्रमुख जिम्मेवारी ट्याङकर व्यवसायीको भए पनि उनीहरु उदासिन छन्। ट्याङकर व्यवसायी संघका अध्यक्ष मनिराम पाण्डेले यसपटक भने पार्किङका लागि जग्गा प्राती भएको बताए। ‘धनगढीमै नेशनल ट्रेडिङको जग्गा प्राप्त भएको छ,’ उनले भने, ‘अबको केही दिनमै व्यवस्थापन हुन्छ।’

आयल निगम र ट्याङकर व्यवसायीले एक/ दुई महिनामा व्यवस्थापन हुने भन्दै अभिव्यक्ति दिएको वर्षौ पुगिसकेको छ। तर व्यक्तिगत नाफाका लागि खरिद गरिएका ट्याङकरको पार्किङ व्यवस्थापन सरकारले गर्नुपर्ने अडान व्यवसायीले पटकपटक गर्दै आएका छन्। नियमविपरीत गरिएको पार्किङ हटाउने जिम्मेवारी ट्राफिक प्रहरीको हो। ट्राफिक प्रहरी भने मोटरसाइकल चालकमाथि असुली गर्नमै व्यस्त हुन्छ।

ट्याङकर व्यवसायीलाई नियमन गर्ने नेपाल आयल निगम पनि अहिलेसम्म उदासिन देखिएको छ। हालै प्रादेशिक कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका रामकुमार न्यौपाले यो विषयलाई चासोको साथ लिएको बताए। ‘अहिले पार्किङ हुने स्थानमा पानी जमेको छ,’ उनले भने, ‘पानी घटेको केही दिनपछि सडकको पार्किङ हट्छ।’ अहिले ट्याङकर व्यवसायी संघसँग ८६ वडा ट्याङकर छन्। अधिकांश ट्याङकर सडकमै पार्किङ गरिएका हुन्छन्।

यता सुदूरपश्चिम प्रदेशकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले पनि सडकमा ट्याङकर पार्किङ नगर्न निर्देशन दिएको बताएकी छिन्। ‘सडकमा हुने पार्किङ हटाउन निर्देशन दिएको छु,’ उनले भनिन्, ‘हामीले गर्नु पर्ने सहयोग पनि गर्छौ।’ सडकमै भइरहेको पार्किङ नहटाएर ट्याङकर व्यवसायीलाई आयल निगम, स्थानीय प्रशासन, ट्राफिक प्रहरी, धनगढी उपमहानगरपालिकाले पनि सहयोग गरेको देखिएको छ।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस