सुदूर नेपाललाई विश्वसँग जोड्दै

थारु होमस्टे गाउँ भादामा महोत्सव हुने

आठौं संस्करणको तयारी सुरु

२०७५ पुष ५, ११:३६ सीताराम ओझा

कैलालीको धनगढी उपमहानगरपालिका–१६ स्थित भादामा थारु होमस्टे गाउँ भादा महोत्सव हुने भएको छ ।  स्थानीय संस्कृति, संस्कार, भेषभूषा संरक्षण तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पुस १७ देखि २१ गतेसम्म महोत्सव हुने आयोजक थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिले जानकारी दिएको छ । महोत्सवमा थारु समुदायको नाचगान तथा थारु सङ्ग्रहालय आकर्षणको केन्द्रबिन्दु रहने धनगढीमा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ । ५५ वटा स्टल रहने महोत्सवमा थारु खानाका परिकार ढिक्री, खेरिया, फुलौरी, अण्डीक भात, खुर्मा, कचरिक बरिया, घोङ्घी, सुतही लगायतको परिकार पाईने समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले आज आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिए । 

महोत्सव अवधिभरी सखिया, झुम्रा, मघौटा, लट्ठी, मुङ्ग्रहवा, हुर्दङ्ग्वा लगायत परम्परागत सहित आधुनिक नाच र विभिन्न कलाकारहरुको प्रस्तुति रहने जनाइएको छ । यस्तै, वाणबाट भाले निशाना, भलादमी दौड लगायतका खेलकुद पनि हुने अध्यक्ष चौधरीले जानकारी दिए । पर्यटन वर्ष २०११ को अवसर पारेर २०६७ पुस १७ गतेबाट भादामा थारु होमस्टे सञ्चालनमा ल्याइएको थियो । होमस्टे सञ्चालनसंगै त्यसको एब बर्षपछि २०६८ सालदेखि प्रत्येक वर्ष थारु होमस्टे गाउँ भादा महोत्सव सञ्चालन गर्दै आएको छ । भादामा होमस्टे सञ्चालन भएको ९ वर्षमा आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या वढ्दै गएको छ । सदरमुकाम धनगढीबाट करिब १७ किलोमिटरको दूरीमा रहेको भादा होमस्टे गाउँमा १९ घरमा होमस्टे सञ्चालन छन् । थारु समुदायको मौलिक संस्कृति, संस्कारको संरक्षण तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ होमस्टे सञ्चालन गरिरहेको समितिले जानकारी दिएको छ ।
 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस