आन्दोलनमा कर्मचारीको मस्ती
स्थानीय तहका कर्मचारी अन्दोलनमा उत्रिएपछि प्रसाशनिक कामकाज ठप्प भएको छ। सरकारले लागु गरेको नयाँ अध्यादेशमा आफुलाई हेपेको भन्दै स्थानीय तहका कर्मचारी अन्दोलित भएपछि सेवाग्राहीहरु पनि मर्कामा परेका छन्। आन्दोलन अन्तरगत नै धनगढी उप–महानगरपालिकामा बुधवार भने छुट्टै दृष्य देखियो। आन्दोलन नहुँदा पनि फुर्सदिला जस्तै देखिने धनगढी उप–महानगरपालिका कर्मचारीहरु आन्दोलनमा मस्ती गरिरहेका थिए। ३ घण्टा पेन डाउन गर्ने भनेका कर्मचारीहरुले ४ घण्टा पेन डाउन गरेर सेवाग्राहीको काम गरेनन् भने आन्दोलनमा रहेको भन्दै उनीहरु कुर्र्चीमा बसी घाम तापिरहेका थिए। अमिलो खाईरहेका थिए भने बदाम चिया खाएर रमाईलो गर्दै मख्खिरहेका देखिन्थे।
तर सानोतिनो कामले नगरपालिका÷गाउपालिका धाउने सेवाग्राहीहरु भने काम नभएपछि रित्तो हात फर्किन बाध्य भएका छन्। डोटीको शिखर नगरपालिकाका चक्र बहादुर बलायर धनगढी उप–महानगरपालिकामा नयाँ घर निर्माण गर्दै छन। घरको नक्सा पास गर्न र चार किल्ला प्रमाणित गर्नको लागि उप महानगरपालिका धाउन लागेको एक हप्ता नै भईसक्यो। तर दैनिक जसो कर्मचारीले कुनै न कुनै समस्या देखाएर पन्छिन लागेपछि उनको काम भएको छैन्। बलायर बुधबार पनि घरको नक्सा पास गर्न र चार किल्ला प्रमाणित गर्नको लागि नगरपालिका पुगे तर कर्मचारीले आन्दोलन भन्दै काम नगरेपछि उनि वुधवार पनि रित्तै फर्किए।
स्थानीय तहमा नगरिकको प्रत्यक्ष सरोकार हुने भएकाले स्थानीय वासिन्दाहरुले कुनैपनि कामका लागि स्थानीय तह पुग्नु नै पर्छ। सुदूरश्चिमका पहाडी जिल्लाहरुबाट बसाई सरेर तराई आउने क्रम बढेसंगै घर निर्माणका लागि कामकाज गर्न पहाडी जिल्लाहरुदेखि धनगढी उप–महानगरपालिकामा धेरै जसो सेवाग्राहीहरु पुग्ने गरेका छन। तर काम नभएपछि आर्थिक रुपमा पनि वढी खर्च लागिरहेको सेवाग्राहीहरु बताउँछन्। आन्दोलनका अन्य धेरै विकल्पहरु हँुदाहँुदै पनि कर्मचारीले कामकाज ठप्प पारेर आन्दोलन गर्नु भनेको सेवाग्राहीलाई समस्या पर्ने काम मात्र गरेको सेवाग्रहीहरुले नै आरोप लगाएका छन।