सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षणमा मुख्यमन्त्री बझाङ गए, व्यस्त छु भन्दै पाँच मिनेटमै फर्किए

२०७८ कार्तिक ८, १२:५९ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट आइतबार बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणका लागि बझाङ पुगे। मुख्यमन्त्री भट्टको नेतृत्वमा सभामुख अर्जुन थापा, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीसहितको टोली बझाङ पुगेको हो। बेमौसमी वर्षाका कारण क्षति पुगेको प्रभावित क्षेत्रको निरीक्षणका लागि टोली बझाङ पुगेको थियो। 

तर, उक्त टोलीले पीडितलाई भने नभेटी फर्किएको पीडितहरुले बताएका छन्। टोलीले मानवीय क्षति भएको बझाङको थलारा र भौतिक क्षति भएको खप्तडछान्ना गाउँपालिकाको अवलोकन मात्रै गरेर फर्किएको बताईएको छ। खप्तडछान्ना पुगेका मुख्यमन्त्री भट्टसहितको टोलीले समय नभएको व्यस्तताको कारण देखाउदै पीडितलाई भने नभेटी फर्किएको पीडितहरुको गुनासो छ। मुख्यमन्त्री आउने भनेपछि पीडितहरू आफ्नो पीडा सुनाउन आतुर थिए। तर, मुख्यमन्त्रीले नभेटेरै फर्किएपछि उनीहरु निरास बनेका छन्। 

निरीक्षणमा मुख्यमन्त्री हेलिकोप्टर चढेर बझाङ गएका थिए। हेलिकोप्टरबाट ओर्लेका मुख्यमन्त्री भट्टसहितको टोली पाँच मिनेटमै फर्किएको बताईएको छ। मुख्यमन्त्रीले  बाढीपहिरो पीडितलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्ने आश्वासन दिएका छन्।

यसअघि सो क्षेत्रको निरीक्षणमा गएका प्रधानमन्त्री शेरबहादुर देउवा पनि पीडितसँग नभेटी फर्किएका थिए।
 

कमेन्ट लोड गर्नुस