सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेमौसमी वर्षापछि नोक्सानी व्यहोरेका किसानलाई प्रतिहेक्टर ४० हजार क्षतिपूर्ति दिनुपर्ने माग

२०७८ कार्तिक ७, ०४:३५ नारायण अवस्थी

धनगढी: दसैँ लगत्तै परेको ३ दिने अविरल वर्षाको कारण सुदूरपश्चिमका किसानको धानबालीमा क्षति पुगेको छ। काट्न बाँकी रहेको धान केही सुरक्षित रहेको भए पनि काटेको धान भने किसानले भित्र्याउन नपाउँदै कुहिन र उम्रिन थालेको छ। अब भिजेको धान कसरी व्यवस्थापन गर्ने भन्ने चिन्तामा किसान छन्। तर बर्सातपछि घाम लागेकोले धान कुहिनबाट बचाउन केही विकल्प रहेको कृषि विज्ञहरुले बताएका छन्। 

काटेपछि पानीमा भिजेको धानलाई ओभानो ठाउँमा लगेर सुकाउन सके केही मात्रामा भएपनि किसानले धान जोगाउन सक्ने कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्मा सुझाव दिन्छन्। ‘भिजेको धान सुकाएर धान उम्रनबाट रोक्न सके किसानले कम्तिमा पनि घरमा खान पुग्ने गरी धान बचाउन सकिन्छ’, उनले भने, ‘अग्लो र ओभानो ठाउँमा राखेर सकेजति धान उम्रिनुभन्दा पहिले सुकाए केही राहत हुन्छ।’

वर्षाका कारण सुदूरपश्चिममा हजारौँ हेक्टर जग्गामा लगाइएको धानबालीमा क्षति भएको छ। काटेको धानबाली भित्र्याउन नपाउदै परेको बेमौसमी वर्षाले हजारौँ किसान मर्कामा परेका छन्। प्रमुख बालीमा भएको ठूलो क्षतिले भोकमरी हुने देखिएको भन्दै चिन्ता गरिएको छ। तर कृषि विज्ञहरुले भने परम्परागत तरिका र उपाय लगाएर पनि किसानले धान जोगाउनुपर्ने सुझाव दिएका छन्। जति सक्यो छिटो भिजेको धान र पराल सुकाउनु पर्ने कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख रामचन्द्र भट्टले बताए। ‘किसानको काटेको धान भिजेको छ तर तुरुन्तै भिजेको धान सुकाउनतर्फ किसानले चनाखो हुनु जरुरी छ’ उनले भने, ‘भिजेको धानको बाला र पराल अलग गरेर घाममा सुकाउन सके किसानले केही नभएपनि आफूलाई खान पुग्ने धानको जोहो गर्न सक्छन्।’

अहिले पानीमा भिजेको धान किसानले बिक्री गर्न पाए मात्रै ठूलो राहत हुने देखिन्छ। उक्त धान उमालेर तत्कालै सुकाउन सक्यो र प्रयोगयोग्य बनाउन सक्यो भने खानयोग्य चामल, चिउरा, भुजा बनाउन सकिने सम्भावना पनि छ। तर सरकारको उदासिनताले कैलाली र कञ्चनपुरसहित प्रदेशका अन्य जिल्लामा धानबालीमा भएको क्षतिकै कारण भोकमरी हुने जोखिम बढेको छ। 

भोकमरीको असरबाट किसानलाई बचाउन तीनै तहका सरकारले उचित राहत दिनुपर्ने कृषि विकास निर्देशनालय दिपायका निर्देशक यज्ञराज जोशी बताउँछन्। ‘अहिले किसान निकै मर्कामा छन्। किसान रोइरहेका छन्। किसान मरिरहेका छन्’, उनले भने ‘एक हेक्टरको ४० हजारका दरले किसानलाई सरकारले आर्थिक सहयोग दिनुपर्छ। किसानलाई सहयोग दिन चार अर्ब भए पुग्छ।’

कैलाली, कञ्चनपुर, डोटी र डडेल्धुरा जिल्लामा सबैभन्दा बढी धानबालीमा क्षति भएको छ। जिल्लास्थित कृषि ज्ञान केन्द्रहरुले स्थानीय सरकारको सहयोगमा क्षतिको तथ्यांक संकलन गरिरहेको जनाएका छन्। किसानलाई बचाउन अन्यत्रको बजेटमा कटौती गरेर पनि किसानलाई बचाउनुपर्नेमा कृषि विज्ञले जोड दिएका छन्।

कृषिमा सबैको जीवन आश्रित भएकोले अहिले थला परेको कृषि र किसानलाई बचाउन तीनै तहका सरकारले दायित्व बहन गर्नसके किसानको कल्याण हुने स्वयम् किसानहरुले समेत बताएका छन्। 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस