सुदूर नेपाललाई विश्वसँग जोड्दै

नुवाकोटमा एकैदिन ५८ नयाँ सक्रमित थपिए

२०७८ कार्तिक ६, १०:४९ रासस

त्रिशूली: नुवाकोटमा आज कोरोना रोगको ५८ जना नयाँ सङ्क्रमित थप भएका छन्। योसहित जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ७६ जना पुगेको छ। जिल्लाको विभिन्न स्थानबाट सङ्कलन गरिएको स्वाबको त्रिशूली अस्पतालको आरडिटी, पीसीआर प्रयोगशालामा गरिएको परीक्षण र शङ्कास्पद लक्षणसहित उपचारका लागि सोही अस्पतालमा पुगेका बिरामीबाट सङ्कलन गरिएको स्वाबको एन्टिजेन जाँचको नतिजामा ५८ जनामा कोरोना भाइरस पुष्टि भएको हो।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो चौबिस घण्टामा नयाँ सङ्क्रमित थप हुनेमा विदुर नगरपालिकामा ३६ जना, किस्पाङ गाउँपालिकामा सात जना, बेलकोटगढी नपामा चार जना, सूर्यगढी, ताँदी र म्यागङमा तीन÷तीन जना र तारकेश्वर गाउँपालिकामा एक जना रहेका छन्।

नुवाकोटमा कोरोना सङ्क्रमितको सङ्ख्या क्रमशः घट्ने क्रममा रहेको र १२ मध्ये पाँच वटा पालिका सङ्क्रमणमुक्त भएको तथा सङ्क्रमित पहिचान १० प्रतिशतको हाराहारीमा रहेको थियो । आज एकैदिन धेरै सङ्ख्यामा कोरोनाको नयाँ सङ्क्रमित पहिचान भएको हो।

प्रयोगशालामा ५९ जनाको जाँच गर्दा ५५ जना र बिरामी भएर अस्पतालमा उपचार गराउन गएका पाँच जनामा तीन जनासमेत गरेर ५८ जना व्यक्तिमा कोरोना भाइरस पुष्टि भएको छ। धेरै सङ्ख्यामा कोरोनाको भाइरस देखिएसँगै दो¥याएर गरिएको जाँचमा समेत सोहीअनुसारको नतिजा आएसँगै रोगको सङ्क्रमण पुनःसमुदायमा व्यापकरुपमा फैलिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

“नमूना परीक्षणअन्तर्गत ९५ प्रतिशतमा कोरोनाको भाइरस देखिएको छ। कार्यालयका सूचना अधिकारी खनालले भने, “चाडपर्वका समयमा गरिएको स्वास्थ्य सावधानीमा गरिएको लापर्वाहीले धेरै व्यक्तिमा भाइरस देखिएको हुनसक्छ।”

कोरोना सक्रमित पुष्टि हुनेमा अधिकांश जिल्ला सदरमुकाम विदुरका बासिन्दा छन्। उनीहरूका स्वास्थ्यमा कोरोना रोगको लक्षणसहितको समस्या देखिएसँगै जाँच गराउने क्रममा भाइरस पुष्टि भएको हो। सङ्क्रमितमध्ये एक जनाको अवस्था गम्भीर भएसँगै त्रिशूली अस्पतालमा भर्ना गरिएको छ भने बाँकी ७५ जनालाई स्वास्थ्यकर्मीको निगरानीमा घरकै एकान्तबासमा राखिएको छ। 
 

कमेन्ट लोड गर्नुस