सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेमौसमी वर्षाले कैलाली र कञ्चनपुरको धानबालीमा ३ अर्बको नोक्सानी

२०७८ कार्तिक ५, ०६:०८ खबर संवाददाता

वीरेन्द्र भट्ट, धनगढीः कैलालीको जोशीपुर गाउँपालिकामा बेमौसमी वर्षाका कारण ८० प्रतिशत धानबालीमा क्षति पुगेको अनुमान गरिएको छ। बेमौसमी झरीले धानबालीमा अपूर्णिय क्षति भएको भन्दै क्षतिको एकिन तथ्यांक संकलनको काम भइरहेको छ। काटेको र काट्न बाँकी धानमा क्षति भएपछि सो क्षेत्रका किसान भोकमरी हुने चिन्तामा छन्। 

वर्षभरी उपभोग गर्ने अन्न तीन दिनको वर्षाले सखाप गरेको जोशीपुर गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरी बताउँछन्। ‘अचानक परेको झरीले जोशीपुर गाउँपालिकाभित्र लगाइएको धानबालीको ठूलो क्षति पुगेको छ। ८० प्रतिशतको हाराहारीमा क्षति भएको हाम्रो अनुमान छ’ उनले भने, ‘क्षतिको एकिन विवरण संकलनको काम वडास्तरबाट भइरहेको छ।’

कैलालीमा मोहन्याल र चुरेबाहेक ११ पालिकामा धानबालीमा भएको क्षतिको प्रारम्भिक अध्ययनअनुसार ७० हजार ५ सय हेक्टरमध्ये २१ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति भएको छ। कैलालीमा मात्र ३ दिनको वर्षाले ३० प्रतिशत धानबालीमा क्षति भएको तथ्यांकले देखाएको हो।  जिल्लाको कैलारी, भजनी, टिकापुर, जानकी, जोशीपुर, गौरीगंगा, घोडाघोडी, लम्कीचुहा र गोदावरीमा सबैभन्दा बढी क्षति पुगेको छ। खाद्य संकट नै आउने गरी क्षति भएको सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले बताए। ‘हामीले गरेको अध्ययन अनुसार २ जिल्लामा मात्र ३३ हजार हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा क्षति पुगेको छ’, उनले भने, ‘किसानले काट्न बाँकी राखेको धान पनि ढलेर कुहिने अवस्थामा देख्न सकिन्छ।’

त्यस्तै बेमौसमी वर्षाकै कारण कञ्चनपुरमा मात्र १२ हजार हेक्टर क्षेत्रमा लगाइएको धानबालीमा क्षति पुगेको छ। जिल्लाको बेलौरी, बेल्डाडी, लालझाडी लगायत क्षेत्रमा सबभन्दा बढी क्षति पुगेको कृषि निर्देशनालयले गरेको अध्ययनले देखाएको छ। दोदा नदी आसपासको क्षेत्रमा मात्र ५ सय विघा क्षेत्रफलमा लगाएको धानबालीमा क्षति पुगेको छ। जिल्लाभित्र २५ दशमलव १२ प्रतिशत धानबाली वर्षाका कारण क्षति भएको छ। निर्देशनालयले पहाडी ७ जिल्लाको क्षतिको बारेमा भने अझै अध्ययन गर्न सकेको छैन। सडक, विद्युत, टेलिफोन लगायतका सेवाहरु अवरुद्ध भएकाले तथ्यांक संकलनमा समस्या भइरहेको निर्देशनालयका कृषि निर्देशक जोशीले बताए।

कृषि निर्देशनालयले गरेको अध्ययन अनुसार तराईका दुवै जिल्ला कैलाली र कञ्चनपुरमा मात्रै ३३ हजार हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा क्षति पुगेको छ। दुई जिल्लामा भएको क्षतिको विवरणलाई विश्लेषण गर्दा किसानलाई ३ अर्ब रुपैयाँको नोक्सानी भएको कृषि निर्देशनालयले जनाएको छ। यसरी कृषि बालीमा नोक्सानी हुँदा  खाद्य संकट निम्तिने भन्दै कृषि विज्ञहरु चिन्तित बनेका छन्। 
 

कमेन्ट लोड गर्नुस