सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको शिवसुर्य बहुमुखी क्याम्पस एक बर्षदेखि बन्द, विद्यार्थी अन्योलमा

२०७५ पुष ३, ०६:३१ रोशन भट्ट

कैलालीको चुरे गाउँपालिका वडा नम्बर ०१ निगालीमा रहेको शिवसुर्य बहुमुखी क्याम्पस १ वर्षदेखी बन्द रहेको छ। गत बर्ष पौष महिनामा नै माध्यामिक विद्यालयका प्राचार्य अर्जुन बोहरा दुर्घटनामा परि घाईते भएपछि सोही विद्यालयमा रहेको क्याम्पसको पठनपाठन बन्द भएको हो। एक वर्षदेखी बन्द रहँदा पनि कुनै सरोकावालाले क्याम्पस सुचारु गर्ने विषयमा चासो नै देखाएका छैनन। सरोकारवाला निकाय मौन बसेका बेला क्याम्पस सुचारु गरिदिन माग गर्दै विद्यार्थीहरु विभिन्न निकाय धाईरहेका छन्।

अध्यापकहरुले नियमित तलव नपाएको भन्दै क्याम्पस आउन नै छोडी सकेका छन् भने विद्यार्थीहरुले पनि परिक्षा फाराम समेत भर्न पाएका छैनन।  चुरे गाउँपालिकाको वडा नम्बर १ मा रहेको शिवसुर्य बहुमुखी क्याम्पसमा व्यवस्थापन र शिक्षा संकायको अध्ययन हुँदै आएको थियो। तर एक वर्षदेखि क्याम्पसको गेट समेत नखुल्दा विद्यार्थीको भविष्यमाथि खेलवाड भईरहेको छ।

स्नातक पहिलो वर्षको लागि भर्ना समेत खोलिएको छैन भने व्यवस्थापन संकायको चौथो वर्षको लागि परिक्षा दिने विद्यार्थीहरुले परिक्षा फाराम भर्ने समय सकिदै लाग्दा समेत फाराम भर्न नपाएको विद्यार्थी कल्पना छेडालले बताईन। स्नातकको पहिलो वर्षका लागि भर्ना नै खुलेन, दोस्रो वर्षमा अध्ययन गर्ने विद्यार्थी नै छैनन्, चौथो वर्षका विद्यार्थीले परिक्षा फाराम भर्न समेत नपाएपछि विद्यार्थीहरु चिन्तित भएका छन्। तेस्रो वर्षका विद्यार्थीहरुको पनि अव लगत्तै परिक्षा फाराम खुल्ने भएकोले नपढी कसरी परिक्षा दिने भन्ने चिन्ता रहेको क्याम्पसका विद्यार्थी एकम छेडालले बताए।

सरोकारवाला निकायले क्याम्पस सुचारु गर्नमा ध्यान नदिए पछि विद्यार्थीहरु नै विभिन्न निकायमा धाउन बाध्यता भएका छन्। क्याम्पस व्यवस्थापन समिति तथा क्याम्पस परिवारले विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न खोजेको आरोप लागेको छ। क्याम्पस खोल्ने होडबाजीका विचमा खोलिएको क्याम्पस भएकाले पनि अहिले आएर दयनिय अवस्थामा पुगेको छ। चुरे गाउँपालिकाका अध्यक्ष धन बहादुर रोक्कामगरले भने व्यवस्थापन समितीको बढी जिम्मेवारी रहेको भन्दै पन्छिए। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस