सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा अझै २१ जना बेपत्ता, यसकारण गयो पहिरो

फोटो : प्रताप वली
फोटो : प्रताप वली
२०७८ कार्तिक ५, ०७:४२ खबर संवाददाता

धनगढी : बझाङको थलारा गाउँपालिका वडा नम्बर ४ को डिक्ला गाउँ शोकमा डुबेको छ। वर्षासंगै आएको पहिरोमा स्थानीय गगने सार्कीको एकै घरका १८ जना र नरे पार्कीको परिवारका ५ जना बेपत्ता भएपछि गाउँ नै शोकमा छ। २३ जनामध्ये दुई बालकको शव भेटिए पनि २१ जना अझै फेला पर्न सकेका छैनन्। उनीहरूको खोजीका लागि सेना, प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ।

गाउँबाट करिब १ किलोमिटर माथि रहेको बझाङ–चैनपुर–दिपायल सडक खण्डको ढोगदिना भन्ने ठाउँबाट पहिरो खसेको थियो। गाउँकै सिरानमा डोजर चलाएका कारण पहिरो गएको स्थानीय शिक्षक मदनबहादुर साउदले बताए। जथाभावी डोजर चलाउदा पहिरो गएको उनको दाबी छ। उनका अनुसार विभिन्न ठाउँमा जमिन भासिएपछि पूरै गाउँ बगाउने डरले विस्थापित भएका १ सय ४८ परिवार अझै त्रासमा छन्।

स्थानीय शिक्षक मदन साउदका अनुसार बिहीबार थलारामा पहिरो पीडितहरु प्रधानमन्त्रीशेरबहादुर देउवा कुरिरहेका थिए। ‘थलारा पुगेर प्रधानमन्त्रीले राहत घोषणा गर्ने आशा थियो,’ उनले भने, ‘यहाँ हेलिप्याड पनि बनाइएको थियो। तर हवाई निरीक्षण मात्रै गरेर प्रधानमन्त्री फर्केपछि थलरावासी निराश भएका छन्।’

पहिरोबाट भएको क्षति बुझ्न बझाङ पुगेका प्रधानमन्त्री देउवा थलारा गाउँपालिका–४ स्थित डिक्लाका प्रभावितलाई नभेटी हवाई निरीक्षण गरी फर्किएपछि पीडित निराश भएका हुन्। बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले प्रधानमन्त्री देउवा, अर्थमन्त्री जनार्दन शर्मा र पर्यटनमन्त्री प्रेम आलेबाट अधिकांश क्षेत्रको हवाई निरीक्षण मात्रै भएको बताए। पहिरो गएको क्षेत्रमा प्राविधिक कारणले हेलिकोप्टर अवतरण हुन नसकेको बताइएको छ।

चैनपुरमा भने जिल्लाका सुरक्षा निकायका प्रमुखहरूले प्रधानमन्त्री देउवालाई क्षतिका बारेमा ब्रिफिङ गरेका थिए। देउवाले बाढीपहिरो प्रभावित क्षेत्रका नागरिकलाई उचित राहत र जोखिममा परेका घरपरिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्न जिल्लाका सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन्। बझाङमा गएको पहिरोमा परी हालसम्म ८ जनाले ज्यान गुमाइसेका छन् भने २१ जनाकाे अवस्था अझै अज्ञात रहेको छ।

कमेन्ट लोड गर्नुस