प्रधानमन्त्रीद्वारा बाढीपहिरोले बैतडीमा पुर्याएको क्षतिबारे जानकारी
बैतडी: बाढीपहिराले पुर्याएको क्षतिको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवा बैतडीको स्थलगत निरीक्षण गरेका छन्। प्रधानमन्त्री देउवाले आज सिगास गाउँपालिका–५ को ढुङ्गाड क्षेत्रमा बाढीपहिराले पुर्याएको क्षतिबारे स्थलगत निरीक्षण गरेको बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।
सो अवसरमा उनले बाढीपहिराबाट मृत्यु भएका र प्रभावित भएका परिवारलाई सरकारले राहत दिने बताए। ढुङ्गाड क्षेत्रमा सेती नदीले पाँच घर बगाउनुका साथै १५० बिघा खेती गरेको जमिन बगरमा परिणत गरेको थियो। यसका साथै जिल्लाको शिवनाथ गाउँपालिका र सुर्नया गाउँपालिकामा पहिरामा परी चार जनाको ज्यान गएको थियो।
यसका साथै यहाँका एक दर्जन बढी घरमा पहिराले क्षति पुर्याएपछि उनीहरु विस्थापित भएका छन्। प्रधानमन्त्री देउवासँग अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर पनि रहेका छन्।