सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका किसानको रोदनः घरखेत डुबेपछि सडकमा आयौं, अब के गरेर खाने ?

२०७८ कार्तिक ३, ०६:४० खबर संवाददाता

वीरेन्द्र भट्ट, धनगढीः कैलालीको जोशीपुर गाउँपालिकाकी विद्यास्नी चौधरीको तीन विघा क्षेत्रफलमा लगाएको धानबाली असोज ३१ गते आएको अचानकको वर्षाले बर्बाद पार्‍याे। कात्तिक २ गतेसम्म वर्षा नरोकिएपछि धानबालीसँगै घरखेत समेत डुबानमा परेपछि चौधरीको परिवार यतिबेला पाल टाँगेर सडकमा रात बिताउन बाध्य छ। 

लगातारको वर्षाकै कारण बर्दगोरियाकी किसान सुपमा चौधरीको २ विघा क्षेत्रफलमा सुकाउन छोडिएको धान समेत खेतबारीमै कुहिन थालेको छ। पाकिसकेको धानबाली भित्र्याउन नपाउँदै खेतमै कुहिन थालेपछि पूर्वी कैलालीका किसान भोकमरी हुने भन्दै चिन्तामा डुबेका छन्। 

धानबालीसँगै घरखेत नै डुबानमा परेपछि अधिकांश किसानको बास सडकमा देखिएको छ। ११ जनाको परिवार रहेको जोशीपुरका किसान चेतराम थारुलाई त अब के गरेर परिवार पाल्ने भनेर पिर पर्न थालेको छ। आम्दानीको कुनै स्रोत नभएका चेतरामले घर खर्च चलाउन र वर्षभरी परिवारको छाक टार्न धान भित्र्याउने तयारी गरिरहेकै अवस्थामा वर्षाले सुकाउन विछ्याएको धान सखाप गरेको छ। ‘घरखेत नै डुबेपछि अहिले सडकको सहारा लिनु परिरहेको छ, अब कसरी परिवार चलाउने चिन्तामा छु’ उनले भने। 

सुदूरपश्चिमको ६५ प्रतिशत धानबाली कैलाली र कञ्चनपुरमा मात्र उत्पादन हुन्छ। तर पाकिसकेको धान काट्न र काटिसकेको धान सुकाउन राखेको अवस्थामा अचानक आएको हावाहुरीसँगै परेको बेमौसमी वर्षाका कारण किसानले ठुलो क्षति व्यहोर्नु परेको छ। कैलालीमा सबैभन्दा बढी धान उत्पादन हुने क्षेत्र जोशीपुर, बर्दगोरिया, भजनी, घोडाघोडाका अधिकांश स्थान जलमग्न भएपछि पाकिसकेको धान किसानले भित्र्याउन नपाउँदै ठुलो क्षतिको सामना गर्नु परिरहेको छ। 

खेतमा सुकाउन राखिएको धानको यतिबेला किसानले माया मारिसकेका छन्। भित्र्याउन ठिक्क पारिएको धान वर्षाले क्षति पुर्‍याएपछि सडक किनारमा पाल टाँगेर कुहिन लागेको धानबाली हेर्दै जोशीपुरकी किसान विरमता चौधरी भोगमरी हुने भन्दै आत्तिन थालेकी छन्। ‘यति ठुलो वर्षा र यति धेरै क्षति त कहिले पनि भएको थिएन, अब के गरेर खाने भन्ने चिन्ताले सताउन थालेको छ’ उनले भने। आफूहरुले धेरै दुःख गरेर धान रोपेको तर  भित्र्याउने बेला वर्षाले सखापै पारिदिएको घोडाघोडी नगरपालिकाका अर्का किसान विरुराम खत्रीले बताए। 

सुदूरपश्चिम प्रदेशभित्र करिव ६ लाख मेट्रिकटन धान उत्पादन हुने गरेको छ। अनुकुल मौसमका कारण यस वर्ष १० प्रतिशले धानको उत्पादनमा वृद्धि हुने अनुमान समेत गरिएको थियो। तर अचानक आएको वर्षाका कारण पाकिसकेको धान पानीमा परिणत भएको छ। क्षतिको यकिन विवरण आउन बाँकी रहेपनि प्रारम्भिक अध्ययन र अहिलेसम्म प्राप्त विवरणअनुसार ३५ प्रतिशत धानबालीमा क्षति पुगेको अनुमान गरिएको छ। 

५० प्रतिशत धान मात्र किसानले भित्र्याएको अवस्थामा काटिएको र काट्न बाँकी रहेको धानमा पुगेको क्षतिको आधारमा अब १५ प्रतिशत धान मात्र सुरक्षित रुपमा प्राप्त गर्न सकिने सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयका कृषि निर्देशक यज्ञराज जोशी बताउँछन्। ‘किसानले उत्पादन गरेको धान खेतीबारीमै कुहिन थालेको छ, सडकमा समेत धानैधान देख्न सकिन्छ, किसानलाई ठुलो नोक्सानी पुगेको छ’, उनले भने, ‘कैलाली र कञ्चनपुरले सम्पूर्ण सुदूरपश्चिमको खाद्यन्न मागलाई धानिरहेको अवस्थामा लगातारको वर्षाले किसान माथि उठ्ने नसक्ने गरी क्षति भएको छ। अब स्थानीय सरकारले निःशुल्क रुपमा किसानको खेतबारी जोतिदिनुपर्छ।’

६५ प्रतिशत कैलाली र कञ्चनपुरमा मात्र धान उत्पादन हुँदै आएकोमा बेमौसमी वर्षाका कारण धानमा क्षति भएपछि सुदूरपश्चिममा खाद्य संकट आउन सक्ने विज्ञहरुको अनुमान छ। वार्षिक ६ लाख मेट्रिकटन धान उत्पादन हुँदा पनि भारतबाट खाद्यन्न आयात गरेर उपभोग गर्नुपर्ने अवस्थामा बालि भित्र्याउने समयमा भएको वर्षाका कारण खाद्य संकट स्वतः हुने अनुमान निर्देशनालयले गरेको छ।
 

कमेन्ट लोड गर्नुस