सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरमा १५ प्रतिशत बढी धानबालीमा क्षति

२०७८ कार्तिक २, ०१:०२ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुर जिल्लामा १५ प्रतिशत बढी धानबालीमा क्षति पुगेको छ। मनसुन सकिएपछि भएको वर्षाले धान बालीमा ठूलो नोक्सान भएको हो। 

आइतबारदेखि लगातार भइरहेको वर्षा भइरहेको छ। कैलालीमा ४० प्रतिशत धान अझै खेतमा रहेको छ भने कञ्चनपुरमा ३० प्रतिशत धान काट्न बाँकी रहेको प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको कृषि विकास निर्देशनालय दिपायलका प्रमुख यज्ञराज जोशीले जानकारी दिए। 

कैलालीमा क्षतिको एकिन हुन नसकेको भए पनि कञ्चनपुरमा १० देखि १५ प्रतिशत धानमा क्षति पुगेको अनुमान गरिएको छ। सुदूरपश्चिम प्रदेशका तराइका जिल्ला कैलाली, कञ्चनपुर मात्र होइन पहाडी सात जिल्लामा समेत पानी परिरहेकोले धानबालीमा क्षति हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा देशभरमै सबैभन्दा बढी सुदूरपश्चिमको डडेल्धुरामा १६६.२ मिलिमिटर पानी परेको छ।

कृषि विकास निर्देशनालय दिपायलका अनुसार सुदूरपश्चिममा एक लाख ८१ हजार हेक्टरमा धान खेती गरिन्छ। त्यसमध्ये कैलालीमा ७२ हजार हेक्टर कञ्चनपुरमा ४८ हजार ४७५ हेक्टरमा धान खेती गर्ने गरिएको छ।

सुदूरपश्चिमममा गत वर्ष ६ लाख ७० हजार ५०३ मेट्रिक टन धान उत्पादन भएको थियो। सो उत्पादनको आधा भन्दा बढी तीन लाख ४० हजार मेट्रिक टन धान कैलालीमा फलेको थियो। उनले कैलालीमा ६० र कञ्चनपुरमा ७० प्रतिशत धान सुरक्षितरुपमा घरमा राखिसकेको बताए।
 

कमेन्ट लोड गर्नुस