सुदूर नेपाललाई विश्वसँग जोड्दै

धान भित्र्याउने समयमा भारी वर्षा हुँदा सुदूरपश्चिमका किसान चिन्तित

फोटो: रासस
फोटो: रासस
२०७८ कार्तिक १, ०६:२४ नारायण अवस्थी

धनगढी: सुदूरपश्चिमका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई भएको बेला भारी वर्षा भएपछि धान उत्पादनमा कमी आउने चिन्ता गरिएको छ। खेतमा धान पाकेका र धेरैले धान काटेको अवस्थामा परेको पानीले क्षति पुगाएको छ। यस्तै धान, चामल तथा परालको गुणस्तरसँगै तरकारी खेती पनि प्रभावित हुने कृषि विज्ञले बताएका छन्। 

यो वर्ष मनसुन अनुकुल हुनुका साथै उन्नत बीउका कारण धान उत्पादन बढ्ने अनुमान गरिएको बेला आइतबारदेखिको वर्षाले उत्पादन घट्ने चिन्ता गरिएको छ। सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा अहिले धान भित्र्याउने समय भएकोमा पानीको कारण धान भित्र्याउन कठिन भएको छ। 

आइतबार रातिदेखि भइरहेको वर्षाका कारण कैलाली, कञ्चनपुरसहित सुदूरपश्चिमका पहाडी जिल्लामा भित्र्याउन तयार भएको धान बालीमा क्षति गरेको छ। धान भित्र्याउने समयमा परेको पानीले काट्न तयार भएको, काटेर सुकाउन राखेको धानसहित परालमा क्षति पुगाएको डोटीको जोरायल गाउँपालिका वडा नम्बर ३ का किसान तीर्थराज भट्टले बताए। ‘रातभरीको पानीले काटेको धान बग्ने अवस्थामा पु्गेको छ’ उनले भने, ‘कुन्यु हालेको धानभित्र पनि पानी पसेर कुहिने अवस्था छ। पानी नरोकिए धानसँगै पराल पनि कुहिने हो।’

वर्षाका कारण कैलाली र कञ्चनपुरका खेतहरु जलमग्न भएका छन्। तराईमा धान पाकेर काट्न तयार भएको समयमा परेको पानीले किसान निकै चिन्तित भएका छन्। काटेको धान पानीको कारण बर्बाद भएको धनगढी उपमहानगरपालिका वडा नम्बर १७ का किसान यज्ञराज चौधरीले बताए। ‘खेतमा पानी जमेको छ, किसान हैरान भएका छन्’ उनले भने, ‘पानीमा भिजेरै खेतमा जमेको पानीको निकास गरिरहेका छौँ।’

सुदूरपश्चिम प्रदेशमा कूल एक लाख ८१ हजार ३९६ हेक्टर जग्गामा बर्खे धान खेती हुने गरेको कृषि विकास निर्देशनालयको तथ्याङक छ। सुदूरपश्चिम प्रदेशमा बर्खे धानको वार्षिक उत्पादन पाँच लाख ८६ हजार ३५३ मेट्रिक टन छ। 

यो वर्ष अनुकुल मनसुन, मलखाद र उन्नत बीउका कारण धान उत्पादन गत वर्षको भन्दा बढी हुने अनुमान गरिएको थियो। तर बाली भित्र्याउने समयमा परेको पानीले धान उत्पादन तथा तरकारी खेती प्रभावित हुने कृषि विकास निर्देशनालय दिपायलका निर्देशक यज्ञराज जोशीले बताए। ‘यो समयको पानीलाई कुुनै पनि हालतमा राम्रो मान्न सकिन्न’ उनले भने, धान भित्र्याउने समयमा भएको वर्षाले धानमा मात्रै होइन तरकारी खेतीमा पनि असर गर्छ।’ 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस