‘फाइनलमा ममाथि प्रतिबन्ध लगाएर साफले अन्याय गर्यो’
काठमाडौंः नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले आफू र नेपालमाथि अन्याय गरेको बताएका छन्।
समूह चरणका दुई खेलमा पहेँलो कार्ड पाएको भन्दै साफले प्रशिक्षक अब्दुल्लाहलाई टच लाइनमा प्रतिबन्ध लगाएको छ। यद्यपि, साफको प्रतियोगिता नियमावलीमा खेलाडीबाहेक अफिसियलको हकमा त्यो उल्लेख नभएको भन्दै प्रशिक्षक अब्दुल्लाहले आलोचना गरेका छन्।
प्रतियोगिताको १३औं संस्करणमा प्रशिक्षक अब्दुल्लाहले नेपाललाई इतिहासमै पहिलो पटक फाइनलमा पुर्र्याएका छन्। र शनिबार राति पौने ९ बजे नेपालले निकटतम प्रतिद्वन्दी भारतसँग उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्।
‘भारतीय प्रशिक्षक नभएर मलाई पनि बाहिर राख्न खोजिएको छ,’ अब्दुल्लाहले भने, ‘यदि आफैँले नियम बनाएर नमान्ने हो भने नियम किन बनाउने ?’ ‘उनीहरु मसँग रिसाएका हुन सक्छन्,’ शनिबार आयोजित भर्चुअल पत्रकार सम्मलेनमा अब्दुल्लाहले भने, ‘नेपालको रिजल्टबाट उनीहरु खुशी नहुन सक्छन्। तर म चुप बस्दिन, एएफसीसँग मिटिङ गर्छु।’