सुदूर नेपाललाई विश्वसँग जोड्दै

दसैंमा कसरी चल्छन् सुदूरपश्चिमका अस्पताल ?

२०७८ असोज २७, ०६:५७ नारायण अवस्थी

धनगढी : दसैंको बेला सबै सरकारी र गैरसरकारी कार्यालयका कर्मचारीले बिदा पाउँछन्। दसैं तिहारमा पाउने बिदामा सबैले आ–आफ्नो घर तथा परिवारलाई समय दिने गर्दछन्। यो अवधिमा अस्पताल कसरी चल्छन् भन्ने विषयमा धेरैमा जिज्ञासा हुन्छ। सुदूरपश्चिमका सरकारी तथा नीजि अस्पतालले दसैँ बिदामा पनि सेवा दिने भएका छन्।

दुई प्रादेशिकसहित डडेल्धुरा र जिल्ला अस्पतालले पनि प्रसुति, प्रयोगशाला र आकस्मिक सेवा दिने भएका हुन्। सेती प्रादेशिक अस्पतालका सूचाना अधिकारी दिलिपकुमार श्रेष्ठले भने, ‘अस्पतालहरु जुनसुकै बिदामा पनि बन्द हुँदैनन्। दसैंको विदामा पनि प्रसुति, प्रयोगशाला तथा आकस्मिक सेवा खुला रहने छ।’

उनले सेती प्रादेशिक अस्पतालमा ओपिडी बाहेकका अन्य सेवा सुचारु रहने बताए। कञ्चनपुरको महाकाली अस्पतालमा पनि आकस्मिक सेवा २४ घण्टा खुला रहने व्यवस्था मिलाइएको छ। चिकित्सक तथा अन्य स्वास्थ्य सेवाका कर्मचारीले विरामीको उपचार गर्ने व्यवस्था मिलाइएको महाकाली प्रादेशिक अस्पतालका सूचना अधिकारी नारदप्रसाद भट्टले बताए। ‘टाढा घर भएका चिकित्सकहरु बिदामा गएको भए पनि अस्पतालमा पनि चिकित्सकहरु रहने छन्,’ उनले भने, ‘महाकाली अस्पतालमा प्रसुति, आकस्मिक र प्रयोगशाला सेवा २४ घण्टा सुचारु हुनेछ।’

सुदूरपश्मिका निजी अस्पतालहरुले पनि अस्पतालमा आउने बिरामीको उपचारको व्यवस्था मिलाएका छन्। विशेषज्ञ सेवा बाहेकका आकस्मिक सेवा प्रदान गर्न धनगढीका निजी अस्पतालहरुले आपसमा सहकार्य गर्ने योजना बनाएको कैलाली अस्पतालका प्रवन्ध निर्देशक तथा निजी अस्पताल संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष जनकराज जोशीले बताए। ‘हामीहरुले फिजिसियन डाक्टरबाट दिने सेवा सुचारु नै राखेका छौँ।

विशेषज्ञ डाक्टरको आवश्यकता परेमा अस्पतालहरुले आपसमा सहकार्य गर्ने गरेका छौँ,’ उनले भने, ‘दसैंको बिदामा पनि सबै निजी अस्पतालहरु खुला नै रहने छन्।’ अस्पतालहरुले बिरामी परेको अवस्थामा अविलम्ब उपचार गराउन नजिकको अस्पतालमा आउन सुझाव दिएका छन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस