सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्र बैंक धनगढीबाट ६४ करोडका नयाँ नोट बाहिरिए

२०७८ असोज २४, ०५:२७ खबर संवाददाता

बीरेन्द्र भट्ट, धनगढीः दसैँमा सबैका हातमा नयाँ–नयाँ नोट पुर्‍याउने गरी राष्ट्र बैंकले यस वर्ष नोट वितरण प्रक्रियालाई सहज बनाएको छ। गतवर्ष कोभिड–१९ को उच्च जोखिम भन्दै सर्वसाधारणलाई नयाँ नोट नबाँडेको राष्ट्र बैंकले यो वर्ष भने असोज ४ गतेदेखि नै प्रदेश कार्यालयमार्फत सर्वसाधारणलाई नोट वितरण सुरु गरेको हो। 

धेरै भिड नहोस् भनेर भदौदेखि नै बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट दिन सुरु गरिएको थियो। राष्ट्र बैंकमै आउने सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा समेत दिइएको छ। राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशभित्र सञ्चालित प्रत्येक शाखा कार्यालयलाई २०/२० लाखका दरले नयाँ नोट उपलब्ध गराइसकेको नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक शुवासचन्द्र घिमिरेले बताए।  ‘हरेक बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई नयाँ नोटको कुनै अभाव नहुनेगरी राष्ट्र बैंकले थप नोट उपलब्ध गराउने व्यवस्था समेत मिलाएको छ’ उनले भने, ‘भदौदेखि नै आवश्यक नयाँ नोट उपलब्ध गराइसकेकाले नयाँ नोटका लागि सर्वसाधारणले यो वर्ष कहिकतै सास्ती भोग्नु परेको छैन।’ 

शुक्रबारसम्म बैंक तथा वित्तीय संस्थाले ५२ करोड रुपैयाँ लगिसकेका छन्। राष्ट्र बैंक धनगढीले सर्वसाधारणका लागि नोट सटही गर्न २ वटा काउण्टरको व्यवस्था समेत गरेको छ। प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबरका नयाँ नोट पाउने व्यवस्था गरिएको छ। जसमा ५ देखि १ सय रुपैयाँसम्मको एक/एक वटा बन्डल दिइने बताइएको छ।  विगतका वर्षजस्तो नयाँ नोटका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्था नरहेको कैलाली अस्पतालमा कार्यरत वीर चौधरीले बताए। ‘विहान थोरै भिड हुने गरेपनि सहज रुपमा चाहिएअनुसार नयाँ नोट उपलब्ध भइरहेको छ’ उनले भने। बैंकले बैंक तथा वित्तीय संस्थालाई भदौ महिनामै नयाँ नोट उपलब्ध गराएका कारण सहज भएको राष्ट्र बैंक धनगढीका निर्देशक घिमिरेले बताए। 

राष्ट्र बैंकसँग अहिले नयाँ नोटको कुनै अभाव नभएकाले चाहिएजति सर्वसाधारणले सोमबार र मंगलबार समेत सहज रुपमा सटही गर्न सक्ने निर्देशक घिमिरेले जानकारी गराए। सर्वसाधारणले १ सय भन्दा साना दरका नोट धेरै साट्ने गरेका छन्। बैंक तथा वित्तीय संस्थाले ५ सय र हजार दरका नोट बढी उपयोग गर्दै आएका छन्। दसैँ र तिहारका लागि नयाँ नोटको माग बढ्दो छ। मागअनुसार राष्ट्र बैंकले बर्सेनि वितरण गरिने नयाँ नोटको परिणाम पनि बढाउँदै आएको छ। यसले बजारमा मुद्रा आपूर्ति बढाउँछ।

नागरिकको हातहातमा धेरै पैसा पुगेपछि खर्च गर्ने प्रवृत्ति बढ्छ। माग बढेपछि बजारमा बस्तु तथा सेवाको मूल्य बढ्छ। यसले समग्र राष्ट्रको मूल्य वृद्धिदर बढाउँछ। मूल्य वृद्धिदर बढ्नु भनेको पैसाको क्रयशक्ति घट्नु हो। 
पछिल्ला वर्षमा राष्ट्र बैंकले डिजिटल भुक्तानीलाई समेत प्रोत्साहन गर्दै आएको छ। विस्तारै नगद कारोबारको सीमा घटाउँदै जाने रणनीति राष्ट्र बैंकले लिएको छ।

कमेन्ट लोड गर्नुस