दुई जलविद्युत आयोजनाका लागि ७३ अर्ब लगानी स्वीकृत
काठमाडौं: शनिबार बसेको लगानी बोर्डको ४८औँ बैठकले दुई जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करिब ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृति तथा पूँजीवृद्धि गर्न अनुमति प्रदान गरेको छ। बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बोर्डको बैठकले सो निर्णय गरेको हो।
करिब १०.५ अर्ब रुपैयाँ लगानीको दोलखामा अवस्थित ५६ मेगावाट क्षमताको जुमखोला जलविद्युत् परियोजना र सङ्खुवासभामा अवस्थित हाल निर्माणको चरणमा रहेको ९०० मेगावाट क्षमताको अरुण ३ जलविद्युत् परियोजनामा ६२.२६ अर्ब रुपैयाँको पूँजी वृद्धि गर्न स्वीकृति प्रदान गरेको बोर्डले जनाएको छ।
यसैगरी बैठकले ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको सन्दर्भमा अध्ययन गरी ४५ दिनभित्र सुझावसहितको प्रतिवेदन बोर्डसमक्ष पेस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा एक उच्चस्तरीय अध्ययन समिति गठन गरेको छ।