H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७८ मंसिर १९, आइतवार ०७:०५
Dec 05 2021, Sunday
07:05:53 AM

अछामका महेन्द्र भुलले व्यवसायमा भुल गरेनन्

विज्ञापन
खवर संवाददाता
२०७८ असोज २३ १०:३८
अ+

एकेन्द्र खत्री, अछाम: स्थानीय सरकाले व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, दलित समुदाय व्यवसाय विकास, उच्च प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा दिएर गाउँगाउँमा स्वरोजगारको अवसर प्रदान गरेको छ। हातमा सीप भए भोकै बस्नु पर्दैन भन्ने उक्ति त्यत्तिकै आएको होइन रहेछ। हाम्रा पुर्खादेखि बस्दै आएको सो उक्ति सुदूर पहाडको जयगढमा बस्ने महेन्द्र भुललाई हेर्दा ठ्याक्कै मेल खान्छ।

हातमा सीप खासै नभएर बिहान बेलुकीको छाक कसरी टारौं भन्दै भौतारिने महेन्द्रले यतिबेला खाने जोहो मात्रै होइन, २÷४ रुपैयाँ जुगाड पनि गर्न थालेका छन्। हुन त उनको कामलाई सुरुका दिनमा खासै इज्जत दिइन्नथ्यो। काम गर्दै र ग्राहकलाई सन्तुष्टि दिँदै गएपछि हेयर कट्रिङको काम गर्ने भनिएका महेन्द्र बिस्तारै सबैको प्यारो मान्छे बने। गाउँघर न हो, २÷४ सय रुपैयाँ खेलाउने भएपछि गाउँलेले सरसल्लाह र सुझाव लिने मान्छे अब भने महेन्द्र नै बनेका छन्।

महेन्द्रको दिनचर्या र व्यक्तित्व बदलिन लामो समय लागेन। अरुले गर्न नचाहेको अनि हेयर कटिङको दृष्टि लगाइने कामको सीप उनले २०७० सालमा सिकेका थिए। त्यही कामलाई उनले दैनिकी चलाउने व्यवसायको रुप दिए र सफलता पनि प्राप्त गरे। कुनै पनि काम सानो वा ठूलो भन्ने हुँदैन भन्ने सोचले कपाल काट्न सीप सिकेका महेन्द्र ‘हेयर कटिङ’ व्यवसाय सञ्चालन गर्ने सफल व्यवसायीका रुपमा स्थापित भएका छन्।  

हातमा सीप भएर पनि सामान्य काम के गर्नु भनेर कामलाई सानो ठान्नेहरु आजका दिनमा आँखाबाट आँसु चुहाएर घरपरिवारसँग बिछोडिँदै गर्दा महेन्द्रले परिवारसँगै बसेर आफ्नो व्यवसायलाई अगाडि बढाइरहेका छन्। ‘सुरुमा सैलुनमा कोही पनि नआउने, यसले जान्दैन भन्ने गर्दथे’ पहिलेका दिन सम्झँदै उनी भन्छन्, ‘विस्तारै मेरो मेहनत देखेर केटाकेटी र युवाहरु आउन थाले। अहिले त साँच्चै भन्ने हो भने चाडपर्वको बेला त खाना खाने फुर्सद पनि हुन्न।’ 

उनको सैलुनमा पुरुषमात्र होइन महिलाको उत्तिकै आकर्षण बढको छ। बढीजसो कर्मचारी र युवायुवती सैलुनमा आउने गरेको महेन्द्रले सुनाए। तालिम नै लिएर महेन्द्रले ग्राहकको रोजाइ र मागअनुसार सेवा दिन थालेपछि सेवा लिन आउनेहरुको भीड लाग्ने गर्दछ। 

त्यसैले त जाँगर नचलाउने र कामलाई सानो भन्नेहरुको लागि अहिले महेन्द्र उदाहरणीय पात्रका रुपमा देखिन्छन्। उनी दिनको करिब १४ घण्टा दाह्री, कपाल काट्ने, कपाल रंगाउने काममा व्यस्त हुन्छन्। उनको व्यवस्ततामा उनका भाई समिरले पनि साथ दिँदै आएका छन्।  ‘मलाई घर परिवारबाट पनि पूर्ण सहयोग छ, त्यसैले म ढुक्कसँग व्यवसाय गरेको छु’ महेन्द्र भन्छन्, ‘पैसा कमाउने सबैभन्दा राम्रो व्यवसाय यही रहेछ।’ 

आर्थिक अवस्था निकै कमजोर भएपछि गुजाराको लागि बीचमै पढाइ छोडेर भारत पसेका थिए महेन्द्र। भारतको गुडगाउँमा होटलमा काम गर्दै उनले करिब १ वर्ष बिताए।  ‘हातमा सीप नहुँदा समस्या हुँदो रहेछ, रोजगारी खोज्दै विभिन्न देशमा भौतारिए। धेरै दुःख पाएँ, अब गाउँमा नै केही गर्नुपर्छ भनेर सैलुन व्यवसाय सुरु गरे’ महेन्द्र भन्छन्, ‘अहिले परिवारसँगै बसेको छु, व्यवसाय चलेकै छ। आम्दानी पनि राम्रै छ।’ 

परदेशमा दुःख पाएका महेन्द्र अहिले गाउँको सुखमै रमेका छन्। सामान्य सीपबाट सुरु गरेको व्यवसाय अहिले ‘महेन्द्र हेयर कटिङ’का नाममा स्थापित भइसकेको छ। गाउँमै बसेर उनले मासिक ३० देखि ४० हजार रुपैयाँ कमाउँछन्। ‘हातमा सीप हुनु नै सम्पत्ति रहेछ’ महेन्द्र भन्छन्, ‘सीपबीनाको मानिस परनिर्भर हुन्छ।’ परिश्रमी र मेहनती हुने हो भने विदेशी भूमि जान् पर्दैन  भन्ने कुरा उनको कामले प्रमाणित गरिदिएको छ। 

उनको कामप्रतिको लगाव र आम्दानी देखेर सबैले प्रशंसा गर्छन्। यो मान, सम्मान र आम्दानीको पछाडी उनको धेरै संघर्ष, निरन्तरको मेहनत र लगनशिलता लुकेको छ।  महेन्द्रले त २०७० सालबाट सीप सिकेर व्यवसाय थालेका हुन्। २०७४ सालमा स्थानीय तहको निर्वाचनपछि पनि उनले पालिकाबाट थप तालिम लिएका थिए। 

तालिम लिने महेन्द्रमात्रै थिएनन्। उनीसँगै जयगढकै हिमाल ठकुल्लाले पनि कम्प्युटर चलाउने र मोबाइल मर्मत गर्ने तालिम लिए। जयगढ बजारमा महेन्द्रसँगै हिमाल पनि सफल व्यवसायी बनेका छन्। हिमाल भन्छन्, ‘गाउँपालिकाले तालिम दिएपछि अहिले मोबाइल मर्मत गर्ने पसल नै राखेको छु। कमाई पनि राम्रै छ, अब गाउँ छाड्ने सोच बनाएको छैन।’ 

युवाहरुलाई स्वरोजगार बनाउने अभियानमा आफूहरु रहेको भन्दै महेन्द्र र हिमाल, सरकार र अन्य सरोकारवाला संघसंस्थाले सहयोग गरे जिल्लामा थुप्रै सीपयुक्त युवा उत्पादन गर्न सकिने बताउँछन्। 

घरेलु तथा साना उद्योग कार्यालय अछामका निमित्त कार्यालय प्रमुख प्रकाश उपाध्यायका अनुसार अछाममा करिब तीन दर्जन ‘हेयर कटिङ’ सेन्टर खुलेका छन्। तीमध्ये केहीले दर्ता गरेरै व्यवसाय सञ्चालन गरेका छन्। उपाध्याय भन्छन्, ‘विकट गाउँका युवाले गुजारा चलाउनैका लागि कपाल काट्ने व्यवसाय गरेर राम्रो गरेका छन्।’ 

गाउँमा रोजगारीको सम्भावना नभएकै कारण युवा विदेशिन बाध्य हुन्छन्। बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष लोकबहादुर साउँदले स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न विभिन्न सीपमूलक कार्यक्रम गाउँपालिकाले ल्याएको जानकारी दिन्छन्। 

हाम्रा गाउँ–बस्तीहरू युवाबिहिन बन्दै गएका छन्। काम गर्ने जनशक्तिको अभावमा कृषियोग्य जमिन बाँझो हुँदै गएका छन्। उपाध्यक्ष साउँद भन्छन्, ‘वैदेशिक रोजगारीको विकल्प समयमै खोज्नुपर्छ भनेर हामीले विभिन्न सीपमूलक तालिम दिएका हौँ।’ 

स्थानीय सरकारले युवालाई उद्यमशीलता र रोजगारी सिर्जना गर्न विभिन्न सहुलियतपूर्ण कर्जाको व्यवस्था गरेको छ। व्यावसायिक कृषि तथा पशुपन्छी कर्जाका, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, दलित समुदाय व्यवसाय विकास, उच्च प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जालगायतका अनुदान दिने व्यवस्था गरेको उनले बताए। 

युवा स्वरोजगार तालिम

अछामका १० वटा स्थानीय तहले युवा लक्षित विभिन्न नीति र कार्यक्रम सञ्चालन गरिरहेका छन्। जसअनुसार पछिल्लो समय युवाहरु गाउँघरमै स्वरोजगार बन्दै पनि गए। 

वैदेशिक रोजगारीका लागि विदेशिने जनशक्तिलाई रोक्ने उद्ददेश्यले युवा स्वरोजगार कार्यक्रमअन्तर्गत विभिन्न तालिमहरु पलिकाले दिन थालेको छ।

जसअनुसार बान्नीगढी जयगढ गाउँपालिकाका १ सय ३४ जनाले सीपयुक्त तालिम लिएका छन्। उनीहरुमध्ये ६० जनाले सफलरुपमा व्यवसाय सञ्चालन गरिरहेका छन्। 

साँफेबगर नगरपालिकाका ३ सय ४० जना युवाले कपालदेखि कम्प्युटरसम्म तालिम लिएका छन्। तालिम लिनेमध्ये १ सय ५० जना स्वरोजगार बनेका छन्। 

यस्तै मेल्लेख गाउँपालिकाले २ सय, मंगलसैन नगरपालिकाले २ सय ५०, कमलबजार नगरपालिकाले १ सय ४७, पञ्चदेवल विनायक नगरपालिकाका ९४ जना युवालाई स्वरोजगारमूलक तालिम दिइसकेका छन्। तालिम लिनेमध्ये ७० प्रतिशतभन्दा बढीले आफ्नै वा अन्यको व्यवसायमा काम गरेर स्वदेशमै रोजगारी पाएका छन्।

यस्तै रामारोशन गाउँपालिकाले पनि १ सय १५ युवालाई गाउँमै व्यवसायी बनाउने उद्देश्यले तालिम दिएको छ। उता तुर्माखाँद गाउँपालिकामा ५ वर्षको अवधिमा करिब ८८ जना युवालाई सीप सिकाइएको छ। तीमध्ये धेरै गाउँमै सफल उद्यमी बनेका छन्। 

वैदेशिक रोजगार घटाउन सीपमूलक कम सिक्न र स्थानीय तहको नीति कार्यक्रम प्रभावकारी बनाउन आवश्यक छ।


 

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
Skip Ad