विहान तरकारी बिक्री गर्छिन नगर कार्यपालिका सदस्य बसन्ती
हरेक विहान सवेरै ४ बजे उठेर नृत्यकर्म गरि चुलो चौको गर्दै सुरु हुन्छ कञ्चनपुरको भीमदत्त नगरपालिका १४ कि बसन्ती रानाको दैनिकी। विहान उठेपछि बसन्तीले आफ्नो कार्य तालिका अनुसार घरको भान्छाको काम भ्याउछिन्।
छोराछोरीलाई खाना ठिक्क बनाएर साईकल डो¥याउदै बसन्तीको बजार तीरको यात्रा सुरु हुन्छ। अघिल्लो दिनको साझ नै बारीबाट टिपेर ठिक्क बनाएको तरकारी बसन्तीले साईकलनमा बोकेर बिक्री गर्न सुरु गर्छिन्। लौ आयो तरकारी, ताजा तरकारी राख्नुस बसन्तीले ग्राहकलाई बिक्री गर्न सुरु गर्छिन् आफ्नै बारीको तरकारी।
फोटो : ईश्वरी खरेलको फेसबुकबाट
उनले तराजु पनि साथमै बोकेर लैजान्छीन्। तरकारी खेती बसन्तीको १० वर्ष देखिको व्यवसाय हो। स्थानीय तह चुनावमा तत्कालीन नेकपा एमालेबाट भीमदत्त नगरपालिका वडा नम्बर १४ को वडा सदस्यमा निर्वाचीत भएपछि पनि बसन्तीले आफ्नो व्यवसायलाई निरन्तरता दिएकी हुन्।
अहिले बसन्ती भीमदत्त नगरपालिकाको नगर कार्यपालिका सदस्य छन्। बिहान बेलुका आफ्नो काममा व्यस्त हुने बसन्तीले जनताको कामलाई पनि प्राथमिकतामै राखेको बताउछिन्। ‘राजनीति गर्छु भन्दैमा काम त छोड्न भएन, घरको चुलो चौको गर्नै प¥यो’दिनेश खबरसँग बसन्तीले भनिन्,‘घरको विकास भए टोलको विकास हुन्छ, टोल विकास भए बल्ल नगरको विकास हुन्छ अनी पो देश बन्छ।’
वडा नम्बर १४ को न्यु सरस्वती टोलमा बस्दै आएकी बसन्तीका दुई छोरा र एक छोरी छन्। १० कठ्ठा जमिनमा बसन्तीले तरकारी खेती गरेकी छन्। वार्षिक एक लाख भन्दा बढि आम्दानी हुने गरेको उनले बताईन्। कार्यपालिकाको बैठकमा पनि सक्रिय सहभागिता जनाउने बसन्तीले गाँउघरमा हुने विवाद समाधानमा पनि भुमिका खेल्दै आएकी छिन्।
जनप्रतिनिधि भइसकेपछि जनताले समस्या लिएर आउछन् अनी आपस छलफल गरेर विवाद मिलाउने काम पनि गर्दै आएको उनले बताईन्। स्थानीय तहमा निर्वाचीत भएका जनप्रतिनिधिहरुको ध्यान जनताको काम भन्दा पनि भ्रष्टाचारजन्य गतिविधि बढि भएको आरोप लागेका बेला नगर कार्यपालिका सदस्य उदाहरणीय जनप्रतिनिधि बन्न सफल भएकी छन्।