सुदूर नेपाललाई विश्वसँग जोड्दै

व्यवसायीले जम्मा गरेको रकममा राष्ट्रिय वाणिज्य बैंक धनगढीको चलखेल

२०७८ असोज २१, ०५:५३ खबर संवाददाता

बीरेन्द्र भट्ट, धनगढीः २०७८ भदौ ३० गते कैलाली भन्सार कार्यालय हुँदै काठमाडौंका लागि मिठाई, पास्ता र सुपका लागि आयात गरिएको सामग्रीको कागजात आइपुग्यो। १६ तारिख अर्थात भदौ ३१ गते बी दयालको नाममा २३ लाख ६५ हजार र विकासीस ओभरसीजको नाममा २३ लाख ६५ हजारको गरी एभरेष्ट बैंकको ४७ लाख ३० हजार रकम अंकित दुईवटा चेक हवाई कुरियरमार्फत धनगढी आइपुग्यो। 

असोज १ गते २ वटा चेकमा अंकित रकम राष्ट्रिय वाणिज्य बैंक धनगढीमा भन्सार राजस्वबाफतको रकम जम्मा भयो। क्लियरिङ एजेन्ट रविन ढकालले वाणिज्य बैंकमा रकम जम्मा गराएका थिए।  असोज २ गते सवा एक करोडको सामान भन्सार परिसरमा आइपुगेको थियो। तर वाणिज्य बैंकले भने काठमाडौंका व्यवसायी राजीव शाहको नाममा जम्मा भएको रकमको दुरुपयोग गर्दै अर्कै व्यापारीको सामाना पास गर्न बैंक भौचर दिएको खुलासा भयो। त्यसपछि वाणिज्य बैंकको बद्मासीका कारण काठमाडौंका व्यवसायी शाह धनगढी आउन बाध्य भए। 

क्लियरिङ एजेन्ट ढकालले २/४ दिन काम हुँदैछ भनेर आनाकानी गरेर एक हप्तापछि सम्पर्कबिहिन भएपछि आफै धनगढी आइपुगेको बी दयालका सञ्चालक शाहले बताए। ‘बैंकमा मेरो रकम जम्मा भयो, कैलाली भन्सारको नाममा क्रेडिट भएको पनि देखियो तर अर्कै व्यक्तिको सामान पास गरेको देख्दा बैंकको कार्यशैलीप्रति आक्रोशित बन्नुबाहेक विकल्प रहेन’ उनले भने। 

राष्ट्रिय वाणिज्य बैंक धनगढीले एउटा प्रयोजनको लागि उद्योगी व्यवसायीले जम्मा गरेको रकम अर्कै प्रयोजनमा खर्च गर्ने गरेको विषयलाई यो घटनाले पनि प्रमाणित गरिदिएको छ। 

४७ लाख ३० हजार भन्सार परिसरसम्म आइपुगेको सामानमा लाग्ने भन्सार शुल्कबाफत रकम बैंकमा जम्मा भइसकेको अवस्थामा त्यही रकम खर्चेर अर्का व्यवसायीको सामान पास गर्न बैंकले दिएको भौचरका कारण भन्सार राजस्व बुझाएका व्यवसायी समस्यामा परेका छन्। तर राष्ट्रिय वाणिज्य बैंक धनगढीका शाखा प्रबन्धक हरिषचन्द्र भट्टले भने बैंकमा जोसुकैको पनि रकम जम्मा हुनसक्ने कुन प्रयोजन र केका लागि थाहा नहुने बताए। ‘राजस्व प्रयोजनका लागि जम्मा भएको रकम जम्मा हुन्छ तर व्यवसायी फर्मको नाम लेख्दैनौँ’ उनले भने।

कैलाली भन्सार हुँदै भारतबाट ठुलो परिणाममा मिठाई, सुप, पास्ता, विस्कुट, औद्योगिक उपकरण लगायत सामग्री आयात भएर काठमाडौंसम्म पुग्ने गरेको छ। तर वाणिज्य बैंकले व्यवसायीहरुले राजस्वबाफत तिरेको रकममा गर्दै आएको चलखेलका कारण विशेषगरी पूर्वका व्यवसायी सबैभन्दा बढी मारमा पर्ने गरेका छन्। 

उक्त घटनापछि धनगढीकै बद्नाम हुने गरी वाणिज्य बैंकले जथाभावी रुपमा राजस्व रकम चलाउने गरेको आरोप लागेको छ। तर वाणिज्य बैंकका शाखा प्रवन्धक भट्टले भने रकम जम्मा भएको जानकारी राख्ने तर कुन प्रयोजन र केका लागि जम्मा भयो भन्ने विषय बैंकको जानकारीमा नहुँने दाबी गरेका छन्।

कैलाली भन्सारको खातामा क्रेडिट भएको रकम राष्ट्रिय वाणिज्य बैंकले जसको रकम हो उसैको प्रयोजनमा प्रयोग गर्नुपर्नेमा रकम एउटाको, प्रयोजन अर्कै व्यक्तिका लागि गर्ने गरेको विषयप्रति उद्योगी व्यवसायी आचार्यचकित बनेका छन्। 

बैंकले रकम लिने तर सम्बन्धित व्यावसायिक फर्म नचिन्ने गरेको अभिव्यक्तिले बैंकप्रति थप शंका गर्नुपर्ने सरोकारवाला बताउँछन्।
 

कमेन्ट लोड गर्नुस