सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको ९ स्थानमा यात्रु सहायता कक्ष, ३८८ सुरक्षाकर्मी परिचालन

२०७८ असोज २१, ०४:०१ खबर संवाददाता

डीआर भट्ट, बैतडी:  बैतडीका ९ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएका छन्। चाडपर्वको समयमा यात्रुको सहजताका लागि जिल्लाका ९ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएका हुन्।

यात्रुहरूलाई सहज रूपमा गन्तव्यसम्म पुर्‍याउन सहयोग गर्ने हेतुले सहायता कक्ष स्थापना गरिएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए। उनका अनुसार बैतडीको सिमार, गोकुलेश्वर, खोचलेक, सतबाँझ, गोठलापानी, सीमानाका झुलाघाट, पाटन, खोड्पे र ढोल्यामोड बजारमा यात्रु सहायता कक्ष स्थापना भएका हुन्।

यात्रु सहायता कक्षहरुमा जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयको सक्रियता रहेको प्रहरी प्रवक्ता ओझाले बताए। उनले सहयता कक्षबाट यात्रुहरूलाई सहज हुने अपेक्षा गरिएको बताए। 

सवारी दुर्घटना तथा यात्रु लुटिने, ठगिन सक्ने सम्भावनालाई मध्यनजर गरेर सीमा नाकासहित ९ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिका हुन्। जिल्ला प्रहरी कार्यालय बैतडीले सवारीसाधनबाट ठगिएमा तत्काल प्रहरीलाई खबर गर्न पनि यात्रुहरुलाई आग्रह गरेको छ। 

दसैँ तिहारमा हुनसक्ने सम्भावित घट्ना कम गरी शान्तिपूर्ण वातावरणमा चाडपर्व सम्पन्न गर्न जिल्लामा ३ सय ८८ सुरक्षाकर्मी समेत परिचालन गरिएको छ।

कमेन्ट लोड गर्नुस