राप्रपा बैतडीको अध्यक्षमा भट्ट
धनगढी: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा ईन्द्रदेवशरण भट्ट चयन भएका छन्। बुधबार सम्पन्न जिल्ला अधिवेशनबाट भट्ट निर्विरोध चयन भएका हुन्। जिल्ला अधिवेशनबाट ईन्द्रदेवशरण भट्टको अध्यक्षतामा ६५ सदस्यीय जिल्ला समिति गठन गरेको राप्रपा बैतडीका जिल्ला निर्वाचन संयोजक देवेन्द्रसिहँ मालले बताए।
जिल्ला कार्यसमितिका अध्यक्ष बाहेकको पदहरुको जिम्मेवारी पछि तोकिने बताइएको छ। अधिवेशनमा पूर्व मन्त्री तथा राप्रपाको कार्यसम्पादन समिति सदस्य जयन्त चन्द, केन्द्रीय कार्यसम्पादन समिति सदस्य हेमबाबु लेखक, केन्द्रीय सदस्य एवं डडेल्धुरा अध्यक्ष टेकराज पनेरु, कञ्चनपुर अध्यक्ष गजेन्द्र चन्द, गणेश विष्ट लगायत करिब ४ सय नेता कार्यकर्ताको सहभागिता रहेको र विभिन्न पार्टी परित्याग गरि ५५ युवाहरुले पार्टी प्रवेश गरेको संयोजक मालले जानकारी दिए।
राप्रपा बैतडीको प्रदेश ‘क’ को अध्यक्षमा रणबहादुर विष्ट र ‘ख’ को अध्यक्षमा अशोकबहादुर साँउद चयन भएका छन्। यसैगरी बैतडीका १० स्थानीय तहमा पनि राप्रपाले संगठन विस्तार गरेको जनाएको छ।
डिलाशैनी गाउँपालिकामा भुपेन्द्रसिँह माल, पुर्चौडी नगरपालिकामा जयबहादुर साँउद, सुर्नायामा देबबहादुर चन्द, पाटन नगरपालिकामा दानबहादुर विष्ट, दशरथचन्द नगरपालिकामा धनबहादुर चन्द, मेलौलीमा ललितबहादुर चन्द, दोगडाकेदारमा महानन्द जोशी, सिगासमा नरेन्द्रसिँह धामी र शिवनाथ गाउँपालिकामा शुक्रबहादुर चन्द अध्यक्षमा चयन भएको राप्रपा बैतडीका नेता एवं निर्वाचन संयोजक देवेन्द्रसिँह मालले बताए।