सचिन तेन्दुलकरको नाम पनि पेन्डोरा पेपर्समा
एजेन्सी : पेन्डोरा पेपर्स लिक मामिलामा थुप्रै देशका नेता, अधिकारी तथा चर्चित हस्तीको नाम सार्वजनिक भएको छ। यसमा उनीहरुको आर्थिक चलखेलको उजागर गरिएको दाबी गरिएको छ।
भारतका पूर्वक्रिकेटर सचिन तेन्दुलकर र उनको परिवारको नाम पनि पेन्डोरा पेपर्समा पाइएको छ। उनीहरु ब्रिटिस भर्जिनिया आइसल्यान्ड स्थित एक संस्थाको सेयर होल्डर तथा सञ्चालक समितिमा रहेको पेन्डोरा पेपर्समा उल्लेख छ। यो संस्था सन् २०१६ मा स्थापना भएको थियो। सचिन तेन्दुलकर फाउन्डेसनका सिइओले भने यी सबै लगानी वैधानिक रहेको दाबी गरेका छन्।
भारतीय सरकारले केन्द्रीय प्रत्यक्ष कर बोर्डका अध्यक्ष जेबी माहापात्राको नेतृत्वमा यस विषयको छानबिनका लागि समिति बनाएको छ। पेन्डोरा पेपर्समा ३०० भन्दाबढी भारतीय नागरिकको नाम परेको छ ।
स्मरण रहोस्, यसअघि पनामा पेपस लिकले संसारभरी तहल्का मच्चाएको थियो। पनामा पेपरमा ठूल्ठूला हस्तीको ‘ट्याक्स चोरी’ को वास्तविकता सार्वजनिक भएको थियो।