सुदूर नेपाललाई विश्वसँग जोड्दै

जयसिंहका गाउँलेले २ महिनापछि पाए खाद्यान्न, हेलिकाेप्टरमार्फत पुर्‍याइयो चामल

२०७८ असोज १९, ०४:४२ नरेन्द्र कार्की

दार्चुला: भारतले महाकाली नदीका तुइन काटेको दुई महिनापछि दार्चुलाको व्याँसमा खाद्यान्न ढुवानी सुरु भएकाे छ। गत साउन १५ गते व्याँस गाउँपालिका–२ मालगाउँका ३३ वर्षीय जयसिंह धामी भारतीय एसएसबीले तुइन फुस्काइदिँदा महाकालीमा बेपत्ता भएपछि भारतले नेपाल भारत जोड्न लगाइएका सबै तुइन काटिदिएको थियो। तुइन काटिएपछि नेपालतिर बाटो नहुँदा व्याँसमा खाद्यान्न संकट आइपरेको थियो। 

उक्त घटनाको २ महिनापछि सरकारले भारतीय बजारमा निर्भर रहेका व्यास गाउँपालिकाको वडा नम्बर २ दुम्लीङ, राप्ला, माल, वडा नम्बर ३ को सीना, तुसरपानी र वडा नम्बर ४ मा हेलिकाेप्टरमार्फत खाद्यान्न ढुवानी गरेकाे छ।आइतबारदेखि सिम्रिक एयरको हेलिकाेप्टरमार्फत व्याँसको खाद्यान्न अभाव भोगका वस्तीमा खाद्यान्न ल्याइएको व्याँस गाउँपालिका अध्यक्ष दिलीपसिह बुढाथोकीले बताए। सोमबार राप्लामा २० क्विन्टल, दुम्लीङ र मालमा ४० क्विन्टल खाद्यान्न ढुवानी गरिएको उनले बताए। यस्तै व्याँस १ को तिङ्कर छाङ्गगरुमा पनि खाद्यान्न ढुवानी गरिएको छ। 

अहिले चामल गाउँमा पुगेपनि त्यो प्रर्याप्त नभएको स्थानीयले बताएका छन्। एक परिवारलाई ३० किलो चामलले कति दिन पुग्छ र ?’ व्याँस ३ का स्थानीय मञ्जु डडालले प्रश्न गर्दै भने, ‘१५ जनाको परिवार संख्या छ। यो चामल त टिका लगाउनलाई पुग्ने जस्तो छ।’

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले व्याँसको लागि ६ सय क्विन्टल खाद्यान्न ढुवानी गरेको हो। ६ सय क्विन्टल चामलमध्ये सीनाको लागि एक सय क्विन्टल, माल गाउँको लागि ४० क्विन्टल, सुनसेरा २ सय क्विन्टल, दुम्लीङ ४० क्विन्टल, छाङ्गरु १२४ क्विन्टल, र तिंकरको लागि ७५ क्विन्टल खाद्यान्न ढुवानी गरिदैँछ।

व्यास गाउँपालिकाका लागि ६ सय क्विन्टल चामल हेलिकप्टरमार्फत ढुवानी गर्न १ करोड ५३ लाख बजेट विनियोजन भएको छ।

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस